बीरगञ्ज मेघा कलेज (बीएमसी)को आयोजनामा हिन्दुहरुको महान पर्व तथा तराईमा हर्षोउल्लासका साथ मनाइने होलिको पूर्वसंध्यामा शुक्रबार सम्मान तथा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ ।
कलेजका अध्यक्ष शम्भु प्रसाद गुप्ताको सभापतित्वमा आयोजित उक्त समारोहले ठाकुरराम बहुमुखि क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख डा. उमेश प्रसाद चौरसियालाई सुखद र सफल कार्यकालको शुभकामना दिंदै दोसल्ला ओढाउनुका साथै फूलमाला र टिका लगाएर सम्मानित गरेको हो ।
ठाकुरराम बहुमुखि क्याम्पस एतिहासिक महत्व बोकेको पुरानो तथा समाजको प्रत्येक वर्गका मानिसहरुसँग प्रत्यक्षरुपले सरोकार राखेकोले यसलाई झन उत्कृष्ट, सबल, सक्षम तथा आत्मनिर्भर बनाउने जिम्मेवारी सबैको भएको कुरालाई डा. चौरसियाले औल्याएका थिए । उनले क्याम्पसमा भएका शैक्षिक कार्यक्रम तथा गतिविधिलाई गतिशिलता दिनुका साथै समय सापेक्ष नयाँ शैक्षिक कार्यक्रमहरु पनि ल्याएर तराईका अधिक भन्दा अधिक जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लाभ दिने तथा बीरगंजलाई शिक्षाको हब अर्थात् केन्द्रबिन्दु बनाउन हरसम्भव प्रयासरत रहने कुरा बताएका थिए ।
उक्त कार्यक्रममा बीएमसीका प्रिन्सिपल दिपेन्द्रप्रसाद कानू, वडा नं. १२ का वडाअध्यक्ष रामदरश साह, सुरजी देवी स्कूलका प्रधानाध्यापक नविन कुमार मिश्र, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय गुप्ता, श्रीपुर विद्यापिठका प्रधानाध्यापक अनिल कुमार वर्णवाल, नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष शालिकराम साह कानू, प्रभु बैंकका प्रदेश २ का प्रमुख मन्त्रिलाल गुप्ता, अधिवक्ता अमय दास थारु, अधिवक्त अजय स्वर्णकार, अधिवक्ता सुनिल यादव, बीएमसिका कोअर्डिनेटर मुस्तुफा अंसारी, प्रकाश यादव, गुडु साह लगायत अन्य शुभचिन्तक तथा शिक्षकशिक्षिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन अधिवक्ता चन्द्रिका पटेलले गरेका थिए ।