नेपाली कांग्रेस पर्साका संयोजक विजय कर्णको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पार्टीका केन्द्रीय निर्वाचन संयोजक प्राध्यापक डा. शशांक कोइरालाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेता विमलेन्द्र निधि, नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री उमाकान्त चौधरी, नेता प्रकाशशरण महत र संविधानसभा सदस्य एवं नेपाली कांग्रेस पर्साका सभापति राजेन्द्रबहादुर अमात्य विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. कोइरालाले १५औँ महाधिवेशन पार्टीलाई थप एकताबद्ध, सुदृढ र गतिशील बनाउने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले वडा तहदेखि केन्द्रसम्म पार्टी संगठन मजबुत बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने र लोकतान्त्रिक मूल्य, आदर्श तथा सिद्धान्त आत्मसात् गर्दै नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो।
नेता विमलेन्द्र निधिले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर पारेर देशकै लोकतन्त्रलाई कमजोर बनाउने विपक्षीहरूको योजनालाई असफल पार्नु आफ्नो अभियान रहेको बताउनुभयो। त्यसैगरी सहमहामन्त्री उमाकान्त चौधरीले आफ्नो सम्बोधनमा गगन थापालाई लक्षित गर्दै १८ करोड रुपैयाँमा कांग्रेस किन्ने योजनाबारे टिप्पणी गर्नुभएको थियो।
जिल्ला संयोजक विजय कर्णले महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउने महत्वपूर्ण प्रक्रिया भन्दै आपसी सद्भाव, सहमति र एकताका साथ अधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुभयो। उहाँले पर्सामा पार्टी संगठनलाई थप सशक्त बनाउन सबै नेता तथा कार्यकर्तालाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
उद्घाटन समारोहमा निर्वाचन अधिकृत विजय उपाध्याय, वरिष्ठ नेता लक्ष्मीनाथ नेपाल, प्रजातन्त्र सेनानी पर्साका अध्यक्ष राजनाथ ठाकुर, डा. कृपासिन्धु प्रसाद चौधरी, शम्भु चौहान, रोशन लामिछाने, मनोज यादव, जोगिन्द्र साह, डा. प्रमोद कुशवाहा, सन्तोष गुप्ता, मनोहर साह, वीरेन्द्रराज कडेल, दिनेश पन्त, विश्वनाथ खनाललगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी वीरगञ्ज महानगरपालिका सभापति मनोज कुमार साह, सचिव आदित्य उपाध्याय, विभिन्न क्षेत्रका प्रदेशसभा तथा क्षेत्रीय सभापतिहरू, गाउँपालिकाका वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
उद्घाटन समारोहपछि सुरु भएको बन्दसत्रबाट विजय कर्णलाई नेपाली कांग्रेस पर्साको सभापतिमा सर्वसम्मत निर्वाचित गरिएको हो। सर्वसम्मत नेतृत्व चयनले पार्टीभित्र एकता, सहमति र संगठनात्मक मजबुतीको सन्देश दिएको सहभागीहरूले बताएका छन्।
नवनिर्वाचित सभापति कर्णले पार्टी संगठन विस्तार, आन्तरिक एकता सुदृढीकरण तथा आगामी १५औँ महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

