पानीको महत्व सबै जलचर, स्थलचर र वायुचरका लागि अर्थात सम्पूर्ण लोकमा बस्ने प्राणी, वनस्पनी तथा मानवका लागि नभइ नहुने चीजहरु मध्येको एक हो । केहि दशक अघि देखि चुरे क्षेत्रमा थालिएको प्राकृतिक दोहनले तराईमा पानीको मूहान लगभग सुख्खा भैसकेको छ । यहाँका करिब ७० प्रतिशत घरमा पानीको समस्या चर्को भइसकेको छ भने ३० प्रतिशत घरमा पनि चाहिएको समयमा चाहिएको जति पानी नपाएर खाना पकाउन देखि लिएर कपडा धुन, नुहाउन तथा सरसफाइ गर्न पानी कै जोहो गर्न रातदिन मानिसहरु चिन्तित छन् । सुविधा भएकाहरुले मानवताको नाताले एक अर्कालाई पानीका लागि काम चलाउ सहयोग गरे पनि यो दीर्घकालिन सामाधान भने होइन ।
पोहोर साल आधि जेठ पछि शुरु भएको पानी समस्या यसपालि बैशाख शुरु देखि नै दुःख दिन थालेको सबैलाई सर्वविद्यितै छ । तर अर्को वर्ष पानीको समस्या यो भन्दा पनि विकराल रुप लेला भन्ने कुरामा दुईमत छैन । प्राकृतिकसँगको लगातार छेडछाड, दोहन, विनास र सत्तामा बसेका मानिसहरुको अहिले जस्तो फित्तलो तयारी हुने हो भने पिउने पानीको कमीले आउने वर्षमा चौपाया र मानिसहरुको पनि ज्यान नजाला भन्न सकिन्न । एकातिर हामीसँग भएको प्राकृतिक सम्पदाको संरक्षण गर्न सकिएको छैन भने अर्कोतिर प्रकृतिमाथि हुने दीर्घकालिन असरबारे कुनै अध्ययन नै नगरी सौन्दर्यकरण गर्ने होडमा नदीनाला दोहन, पोखरी सानो बनाउने, तालतलाव र मूल स्रोत मास्ने, अव्यवस्थित ढल निकास र बढ्दो शहरीकरण लगायतका अनेकौ कारणहरु छन् जसबारे अब हामी गम्भिरतापूर्वक सोच्ने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बेला आएको छ ।
प्रत्येक वर्ष मानवले देखाएको उच्च मनोवल तथा एकताको भावले एकअर्कालाई गरिने सहयोगले भूकम्प, आगलागि, बाढी, कोरोना जस्तो महामारी तथा अन्य विपदमाथि विजय प्राप्त गरेको इतिहास छ । केन्द्रीय, प्रादेशिक तथा स्थानिय तहको समन्वय, सहयोग र सद्भावले धेरै परिवर्तनहरु सम्भव भएका छन् । केन्द्र तथा प्रादेशिक तहको चश्माले गरिब तथा मध्यमवर्गिय मानिसहरुको कष्टकर जीवनशैलिमाथि नजर पुग्न नसके पनि स्थानियहरु तथा स्थानिय सरकारका अंगहरुले परेको बेला लत्ताकपडा, चामल, आगो बाल्न दाउरा, त्रिपाल, खाधान्न पदार्थ, औषधीउपचार, रक्तदान, खोप आदि वितरणमा उच्च मनोवल देखाए झै सबै वडामा आवश्यकता तथा दुरीको आधारमा चाहिए जति चार इन्चको बोरिङ्ग अर्थात ट्यूब वेल जडान गराई इतिहासको गौरवमय पन्नामा सुनौलो अक्षरले आफ्नो नाम लेखाउन अवसर समयले नागरिक अनुवा तथा समाज सेवीहरुलाई दिएको छ । पशुपंक्षी, जलमा आश्रित जीवजन्तु तथा वनस्पतीलाई पनि जोगाउने जिम्मा हाम्रै हो ।
विगतमा धर्मकर्म गर्ने मान्छेले आफ्ना दिवगंतहरुको नाममा धर्मशाला, इनार, मठमन्दिर, पाठशाला, जग्गादान, लगायत अन्य थुप्रै चलअचल सम्पत्तिहरु दान गरेर अमर हुने मौका खोज्दथे तर अत्याधिक गर्मीले गर्दा पानीको स्तर कम भई डेढ इन्चीको धाराले पानी दिन छाडेपछि आजको आवश्यकता ४ इन्चको सार्वजनिक ट्यूबवेल रहेको छ जसले मानवलाई आफ्नो भूल सुधारी भावि सन्ततिका लागि ठूलो गुण लगाउन अल्पकालिन समयले मौका दिएको छ ।
हाल कुनै कुनै वडाबाट सार्वजनिक स्थानमा ट्यूबवेल हाली जनतालाई राहत दिने उदाहरणीय तथा ऐतिहासिक महत्व काम भइरहेका छन् तर ती प्रयाप्त छैनन् । स्थानिय निकायले यसका लागि आपतकालिन कुनै बजेटको व्यवस्था गरेर भएपनि राहत दिने काममा अघि सर्नुपर्छ । फेरि पानीको सतह बढेर घरघर पानी आउन थालेपछि यसको महत्व कम होला र यो सत्कर्मकोलागि अर्को वर्ष कुर्नुपर्ने होला । त्यसैले यस कार्यलाई व्यापक तथा तिव्र बनाई विशेषगरी निम्नवर्गिय स्थानियहरुलाई राहत दिने काममा कन्जुस्याई तथा फोहरी राजनीति गर्नुहुँदैन ।
पानीको टड्कारो समस्याले हामीलाई पानीको सदुपयोग, भंडारण र प्राकृतिक संरक्षणका लागि अहिले देखि नै केही ठूला गुरुयोजनामाथि काम गर्न सचेत पनि गर्दैछ । प्रकृति हाम्रो आमा सरह भएकोले हामीलाई बारम्बार मौका दिंदैछ तर हामी सुध्रिने कहिले हो ? म एक्लैले के गर्न सक्नु भन्ने होइन । म एक्लैले केही त गर्न सक्छु सोचेर आजैबाट केही गर्रौ ।