You are currently viewing मस्त शैक्षिक संस्था, ‘विचरा’ शिक्षक — राजेश श्रीवास्तव

मस्त शैक्षिक संस्था, ‘विचरा’ शिक्षक — राजेश श्रीवास्तव

एउटा प्राईभेट शैक्षिक संस्थाले भर्ना खर्च कम्तिमा दश हजार, मासिक शुल्क पन्ध्र सय र अन्य खर्च पाँच सय गरेर विभिन्न शुल्क असुल्छ । मापदण्डविहिन स्थापना भएका थोत्रा स्कूलहरुले बस, विभिन्न किसिमको पोशाक, विभिन्न किसिमको किताब, टाई–बेल्ट आदि जस्ता सामाग्रीको नाममा अभिभावकसँग पनि टन्नै शुल्क तथा विक्रेतासँग  कमिशन असुल्छन् । अभिभावक पनि महँगो शुल्क तिर्दा राम्रो किसिमको पढाई होला भनेर मस्त र खुशी देखिन्छन् । सडकमा, चिया पसलमा, होटेलमा, सेमिनारमा, हलमा, आफ्ना छोराछोरी राम्रो स्कूलमा पढेको र उत्कृष्ट नतिजा ल्याएको भनेर शेखी फूर्ती लाउन पछि पर्दैनन् । स्कूलले पनि विभिन्न कार्यक्रम खेलकुद वार्षिक उत्सव आदि ईत्यादि गरेर शुल्क माथि शुल्क थपेका हुन्छन् अनि अभिभावक पनि सकि न सकि उक्त रकम बडो शान ले तिरेकै हुन्छन् । यसरी हेर्दा कुनै पनि शैक्षिक संस्थाले राम्रो कमाई गरिरहेका हुन्छन् र बडो शानले मानले बाँचेका हुन्छन् शैक्षिक संस्थाको लगानी कर्ता ।

Photo: Internet

शिक्षा जस्तो संवेदनशिल ठाउँमा कुनै पनि अभिभावकले कन्जुसाई गरेको पाईदैन । आफ्नो दुःखले अर्जेका सम्पति , कमाई आदि सबै खर्च गर्न तयार हुन्छन् । आफ्ना छोराछोरीका लागि कुनै पनि अभिभावकले बाहिरी तडक भडक, शैक्षिक संस्थाको प्रचार प्रसारको नाममा गरेका देखावा, विभिन्न होटेलमा गराएका विद्यार्थीको जम्काभेट आदि ईत्यादिले अभिभावकको ध्यान उक्त शैक्षिक संस्थाप्रति सम्हीत हुन स्वभावीकै हो । अभिभावकले छोरा छोरीको मार्कसिट को राम्रो नतिजा देखेर मक्ख पर्छन् पनि तर भित्री कुरा, कथावस्तु देख्न सक्दैनन् कुनै पनि अभिभावकले ।

विद्यार्थीलाई दिएको गृहकार्य, परीक्षामा सोधेका प्रश्नहरु, पाठ्यक्रममा समावेश विषय वस्तुहरु, पाठ्यक्रम सकिएको न सकिएको, स्कूलमा विद्यार्थीहरुलाई गरिने व्यवहार, विद्यार्थीको शैक्षिक व्यवहार सुधार, वातावरण, विद्यार्थीको पठनपाठन शैली, विद्यार्थीको आचरण व्यवहार, नैतिक शिक्षा आदि ईत्यादि महत्वपूर्ण विषय प्रति अनभिज्ञ हुन्छन् प्रायः जसो अभिभावक । शैक्षिक संस्थाहरु मस्त छन् रकम असुल्नमा अनि अभिभावक पनि मस्त छन् शानवानले पैसा तिर्न ।

विभिन्न शैक्षिक संस्थामा वर्षे पिच्छे बीना स्विकृति प्रत्येक कक्षाका पाठ्यक्रम परिमार्जन का नाममा अनावश्यकरुपले किताबहरु बद्लिनु, स्कूलले नै तोकेको ठाउँबाट किताब, टाई, बेल्ट, तथा ट्यूशन पनि लिन बाध्य बनाइनु तथा अभिभावकहरु बाट पैसा अशुल्नुले तथ्याङ्क प्रष्टै देखिन्छ । माथीका उक्त रकम सजिलैसँग सकी नसकी बाध्यता बस तिर्छन् नै अभिभावकले । यसरी हेर्दा शैक्षिक संस्थामा चारैतिर बाट मोटै आम्दनी हुन्छ भनेर मेरो बुझाई हो ।

माथीका कुराहरु शैक्षिक संस्थाका भए अब विचरा शिक्षकको कुरा गरौं । शैक्षिक संस्थामा तीन किसिमका शिक्षकहरु कार्यरत छन् । पहिलो जो सरकारी शैक्षिक संस्थाको शिक्षामा कार्यरत शिक्षकहरु छन् जो बिहानका केही कक्षाहरुमा पढाउँछन् । दाश्रो कुनै संस्था (बैंक तथा वितिय संस्था, कलकारखाना) आदिमा कार्यरत व्यक्ती जो आफ्नो बिहानको समयमा केही पायक केही कक्षाहरु लिएर पढाउँछन् र तेश्रो जो बिहान देखी बेलुका सम्म मरिमरी पढाउँछन् र तलबको नाममा बढीमा दश हजार कमाउँछन् । समाजिक मान मर्यादा पाए पनि तिनको जीवन स्तरमा सुधार नपाएकोले आत्मग्लानी महसुस गर्दछन् । अब दश हजार वा त्यो भन्दा पनि कम तलबमा तिनले के गर्लान पक्कै पनि अर्को कुनै संस्थामा जागिर नपाउन्जेल त्यस शैक्षिक संस्थामा करले मन नलागी नलागी पढाउलान् अर्को जागिरको खोज तलाश गर्लान । अझ पनि राम्रो तथा गुणस्तरीय विद्यार्थीहरु आफ्नो अमूल्य समय शिक्षण पेशामा दिएको मेलै देखेको छैन । अहिले विद्यार्थीहरु विभिन्न बैंक, विभिन्न संस्था, बिदेशी जागिर र सरकारी जागिरप्रति अग्रसर भएको देख्छु । जस्तै डाक्टर, इन्जिनियर, उद्योगी, कुशल व्यवस्थापक जस्ता बहुमुल्य हिरा उत्पादन गर्छन् तिनको भविष्य आफै सुरक्षित नभएको महसुस गर्दछु म, कारण तिनको असुरक्षित भविष्य तथा विस्तारै घट्दै गएको उत्प्रेरणा ।

नाम र दाम कमाएका शैक्षिक संस्थाहरु पक्कै पनि उक्त संस्थामा कार्यरतम, केन्द्रित तथा लगनशिलताको अध्ययनगरी उचित तलब तथा सुविधाको व्यवस्था गर्नुपर्दछ भनी मेरो बुझाई हो । जुन शिक्षकले आफ्नो भविष्य आफै सुरक्षित भएको महसुुस गर्दैन् तिनले राम्रो तथा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दैन वा चाहँदैन त्यो सम्बन्धित शैक्षिक संस्थामा समय काट्ने काम मात्र गर्छन् । शिक्षकहरुको योगदान, शिक्षा, अनुभव तथा लामो समयको लगानिको कदरगरी तिनको भविष्यको ग्यारेन्टी शैक्षिक संस्थाले लिन सक्नुपर्दछ तब मात्रै गुणस्तरीय शिक्षाको विकास हुन्छ अन्यथा हरेक वर्ष शिक्षकहरु अर्को पेशाप्रति आर्कषित भई शिक्षण पेशाबाट पलायन हुनुका साथै स्थाइत्व दिन सक्दैनन् । त्यही भइरहेको पनि छ ।

विभिन्न संघ संस्था, कलकारखाना वितिय संस्था आदिले आफ्नो कर्मचारीलाई विभिन्न वितिय सुविधा तथा वोनसले सम्मोहित बनाउँछ र मान सम्मान गर्दछ र बेला बेलामा विभिन्न कार्यक्रमको आयोजना गरी कामप्रति उत्प्रेरणा जगाउने काम गर्दछ । कार्य शैली, कार्य वातावरण, कार्य वर्गीकरण, कार्य मूल्याङ्कन, विभिन्न सूचना–प्रविधिको पहुँच, कार्य विश्लेषण, कार्य योजना, मानव संशाधनको विकास, तालिम, व्यवस्थापनको विकास, उत्प्रेरणा, पुरस्कार, प्रोत्साहन भत्ता, अनुशासन, श्रम सम्वन्ध आदिले आफ्नो कर्मचारीलाई प्रोत्साहन गर्दछ र कार्यप्रति लालाईत बनाउँछ, तर शैक्षिक संस्थामा काम गर्ने ‘विचरा’ शिक्षकहरु यी कुराहरु किताबमा मात्रै पढाउ“छन् र अरुले पाएका विभिन्न सुविधाहरु टुलुटुलु हेरेर मात्रै बस्छन् । विचरा ती शिक्षकहरुको के दोष ? एकातिर शैक्षिक संस्थाले तिनै शिक्षकशिक्षिकाको मिहिनत र पसिनाले गरेको काम देखाई विभिन्न बहानामा उठाएका रकमहरु एक्लै कुम्ल्याएर मोटाउँदै  गइरहेका छन्, भवन बनाउँदै गइरहेका छन्, जग्गा र गोघागाडि किन्दै गइरहेका छन्, त्यति पैसाले पनि तिनलाई नै नपुगेको कुरा आसपासे शिक्षक कर्मचारिलाई सुनाउन भ्याउँछन्, घाटा लागेको बताउँछन् भने अर्कोतिर ‘विचरा’ शिक्षकहरु तलब पाउने मिति गन्दै, ट्यूशन तथा अर्को राम्रो पैसा, स्थाइत्व, सम्मान तथा भविष्य भएको जागिर खोज्नमै व्यस्त र मस्त छन् ………………।

Photo: Internet

जय शिक्षक !


Leave a Reply