You are currently viewing विउवा सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ता मन्त्रालयमा

विउवा सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ता मन्त्रालयमा

नेभा, १६ माघ,

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेको एक टोलीले उद्योग र व्यापार क्षेत्रमा विद्यमान समस्याहरु लिएर मन्त्रालय पुगेका छन् । सङ्घका पदाधिकारी यस क्षेत्रका उद्योग व्यापारमा देखिएका समस्या समाधानको माग गर्दै आइतवार मन्त्री भेट्न पुगेका हुन् । यसो त वीरगञ्जका उद्योगी समस्याको सूची लिएर मन्त्रालय पुगेको यो पहिलोपटक भने होइन । यसअघि पनि उनीहरू पटकपटक समस्या सुनाउन मन्त्रालय आएका थिए र बारम्बार आश्वासन लिएर फर्किएका थिए ।

भर्खरै नयाँ सरकार गठन भएकाले नयाँ मन्त्रीहरूबाट नयाँ तरीकाबाट समस्याको समाधान पाउने आशा लिएर अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई भेटेको सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले बताए ।

वीरगञ्जका उद्योगीले अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेर बारा–पर्सा औद्योगिक क्षेत्र र व्यवसायका समस्या जानकारी गराएका हुन् । वीरगञ्ज नाकामा अहिले मुख्य समस्याको रूपमा रहेको डस्टी कार्गोको सहज व्यवस्थापनका लागि मन्त्रीहरूको ध्यानाकर्षण गराइएको सङ्घका उपाध्यक्ष माधव राजपालले जानकारी दिए ।

सङ्घको अध्ययनअनुसार त्यस्ता प्रतिरेक ढुवानी लागत २२ लाख ३१ हजार रुपैयाँले वृद्धि भएको छ । ‘रक्सौलबाट आईसीपीसम्म साँघुरो सम्पर्क सडक र आईसीपीमा पर्याप्त पूर्वाधारको अभावमा लागत बढेकाले पूर्वाधार तयार नहुँदासम्म साविककै नाकाबाट ढुवानीको पहल गर्न सरकारलाई आग्रह गरेका छौं,’ उनले भने र त्यस्तै बैंकको चर्को ब्याज, तरलता अभाव, बजारबाट उधारो नउठ्नेजस्ता कारणले उद्यमी व्यापारी हतोत्साहित भइरहेकाले तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

भारतले नेपाललाई ५० हजार मे.टन गहुँको कोटा प्रदान गरेकोमा हालसम्म ३० हजार मे.टन मात्र आयात गर्न सकेको र कोटा मध्ये बाँकी रहेको २० मे.टन गहुँ नेपाली आयातकर्ताहरुले आयात गर्ने वातावरण मिलाउन र अर्को आ.व.को लागि २ लाख मे.टन कोटाको लागि भारतीय निकाय समक्ष पहल गर्न सङ्घका अध्यक्ष डा. गुप्ताले मन्त्रीद्वयसँग आग्रह गर्नुका साथै अन्य समस्याको बारेमा सरकारलाई आग्रह गरेका छन् ।

Leave a Reply