ब्राजिलमा एक व्यक्तिले दुई विद्यालयमा प्रवेश गरी गोली चलाएको छ । ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुई विद्यालयमा शुक्रबार एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएका छन् ।
ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । जानकारीका अनुसार ब्राजिलका विद्यालयमा गोली चलाउने बन्दुकधारीले कथित रूपमा सेमी अटोमेटिक हतियार बोकेको थियो, जुन सीसीटीभी फुटेजमा रेकर्ड भएको थियो ।
सीएनएनका अनुसार भिटोरिया राज्यको राजधानीबाट ५० माईल उत्तरमा रहेको सानो सहर अराक्रुजमा आक्रमण भएको हो । एक ट्वीटमा, एस्पिरिटो सान्तोका गभर्नर, रेनाटो कासाग्रान्डेले शुक्रबार पुष्टि गरे, “सुरक्षा टोलीले आक्रमणकारीलाई पक्राउ गर्यो जसले कायरतापूर्वक अराक्रुजका दुई विद्यालयमा आक्रमण गर्यो । अपूरणीय क्षतिको लागि शोकको प्रतीकको रूपमा तीन दिनको औपचारिक शोकको घोषणा गरेको छु । हामी कारणको अनुसन्धान जारी राख्नेछौं र चाँडै हामी नयाँ स्पष्टीकरण पाउनेछौं ।” यद्यपि, गोली हान्ने व्यक्ति 16 वर्षको भएको आशंका गरिएको छ ।