चीनको हेनान प्रान्तमा एउटा भयानक दुर्घटना भएको छ । हेनान प्रान्तको आन्याङ सहरको वेनफेङ जिल्लामा रहेको एक व्यावसायिक तथा व्यापारिक कम्पनीको प्लान्टमा सोमबार राति भीषण आगलागी भएको छ । स्थानीय अधिकारीहरुबाट प्राप्त जानकारी अनुसार यस भयानक घटनामा ३६ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता रहेको बताइएको छ । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
प्लान्टमा लागेको भीषण आगो निभाउन दमकललाई चार घण्टाभन्दा बढी समय लागेको नगर सूचना विभागले जनाएको छ । जानकारी अनुसार राति करिब ११ बजे आगो नियन्त्रणमा आएको थियो । यद्यपी आगलागीको कारण भने खुल्न सकेको छैन । घटनामा प्रहरीले केहीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
हालै दुबईको विश्वकै अग्लो भवन बुर्ज खलिफा नजिकैको ३५ तले भवनमा भीषण आगलागी भएको छ । यद्यपि यस दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । तर यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भवनमा भएको आगलागीको भिडियो हेर्दा ठूलो मैनबत्ती बलेको जस्तो लाग्यो । आगो हरेक तल्लाको बालकनीबाट देखिन्थ्यो । आगो निभाएपछि भवनमा कालो दाग देखिएको थियो ।