You are currently viewing इजिप्टको राजधानी कायरोको एउटा चर्चमा भीषण आगलागी हुँदा ४१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोको एउटा चर्चमा भीषण आगलागी हुँदा ४१ जनाको मृत्यु

नेभा, ३० श्रावण,

इजिप्टको राजधानी कायरोको एउटा चर्चमा आइतबार बिहान प्रार्थनाको क्रममा आगलागी हुँदा १५ बालबालिकासहित कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । सहिद अबु सेफिन चर्चमा आगो लागेपछि कालो धुवाँ भित्र छिट्टै भरिएको र त्यहाँ अराजकता मच्चिएको प्रत्यक्षदर्शीले बताएका छन् । आगोबाट बच्ने प्रयासमा धेरैले माथिल्लो तलाबाट हाम फालेका थिए ।

अबु बिशोय नाम गरेका व्यक्तिले भने, ‘म निसास्सिरहेको थिएँ । सास फेर्न गाह्रो हुन थाल्यो । सबैको ज्यान गएको छ ।’ आगलागीमा परी चार प्रहरी सहित १६ जना घाइते भएका छन् । प्रहरीको विज्ञप्ति अनुसार इम्बाबाको सघन जनसंख्या भएको क्षेत्रमा रहेको अबु सेफिन चर्चमा आगलागी भएको हो ।

आगलागीको कारण तत्काल पत्ता नलागेको र प्रारम्भिक अनुसन्धानले सर्ट सर्किटका कारण आगलागी भएको विज्ञप्तिमा जनाइएको छ । कप्टिक चर्चले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै हताहतको रिपोर्ट गरेको छ । आगलागी हुँदा भवनभित्र धेरै बालबालिका रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

एक प्रत्यक्षदर्शीका अनुसार आगलागी हुँदा चर्च धुवाँले भरिएको थियो र फसेका धेरैले माथिल्लो तलाबाट हाम फालेका थिए भने धेरैको निसास्सिएर मृत्यु भएको थियो । आगो निभाउन १५ वटा दमकल घटनास्थलमा पुगेका थिए भने घाइतेहरूलाई एम्बुलेन्समार्फत नजिकैको अस्पतालमा लगिएको थियो ।

राष्ट्रपति अब्दुल फतेह अल-सिसीले कप्टिक क्रिश्चियन पोप तावड्रोस द्वितीयसँग फोनमा कुरा गरे र उनको शोक प्रकट गरे, राष्ट्रपति कार्यालयले जनाएको छ । अल-सिसीले फेसबुकमा भने, ‘म यो दुखद दुर्घटनामा नजर राखिरहेको छु । आवश्यक सबै कदम चाल्न सम्बन्धित निकाय र संस्थालाई आग्रह गरेको छु ।’

Leave a Reply