You are currently viewing भरुवा बन्दुकको प्रहारबाट शिक्षकको मृत्यु, घटनामा संलग्न एक जना पक्राउ

भरुवा बन्दुकको प्रहारबाट शिक्षकको मृत्यु, घटनामा संलग्न एक जना पक्राउ

भाद्र १९, संखुवासभा,

मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा भरुवा बन्दुक प्रहारबाट एक शिक्षकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

बिहीबार साँझ करिब ७ बजे सिलिचोङ गाउँपालिका–५ याफु घर भई कालिका आधारभूत विद्यालयमा बस्दै आएका अन्दाजी ३६ वर्षीय शिक्षक नर कुबिर खम्बु राई खाना खाइसकेपछि भाँडा धुन विद्यालयबाहिर निस्किएका थिए।

सोही क्रममा अचानक बन्दुक पड्किएको आवाज आएपछि विद्यालयमै बस्ने शिक्षिका टिकामाया राई बाहिर निस्केर हेर्दा नर कुबिर खम्बु राई ढलेको र शरीरबाट रगत बगिरहेको अवस्थामा फेला पारेकी थिइन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरको पछाडिको भागमा भरुवा बन्दुकले लागेको चोट फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान गर्ने क्रममा प्रहरीले शुक्रबार बिहान करिब ११ बजे मकालु गाउँपालिका–१ सिउँडीबारी बस्ने अन्दाजी ३३ वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

Leave a Reply