नर्वेमा उत्तरी एट्लान्टिक सन्धि संगठन (नेटो) को युद्ध अभ्यासका क्रममा भएको विमान दुर्घटनामा चार अमेरिकी सैनिकको मृत्यु भएको छ । शनिबार नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले यो अभ्यासको युक्रेन युद्धसँग कुनै सम्बन्ध नरहेको बताए । जोनास स्टोरले ट्वीट गर्दै शुक्रबार राति भएको यस दुर्घटनामा ४ अमेरिकी सैनिकको मृत्यु भएको बताएका छन् । उनले ट्वीट गरेका छन्, ‘यी अमेरिकी सैनिकहरू नेटोको संयुक्त अभ्यासमा भाग लिइरहेका थिए र हामी मारिएका सैनिकहरूका परिवार र साथीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।
नर्वेली सेनाका अनुसार दुर्घटनाग्रस्त विमान अमेरिकी नौसेनाको V-22B ओस्प्रे विमान थियो । नर्वेली सेनाले जारी गरेको विज्ञप्ति अनुसार उक्त विमानमा चालक दलका चार सदस्य रहेका थिए र उक्त विमान उत्तरी नर्वेको नर्डल्याण्ड काउन्टीको तालिममा भाग लिइरहेको थियो । नर्वेले उक्त विमान ‘कोल्ड रेस्पोन्स’ सैन्य अभ्यासमा भाग लिएको जनाएको छ । यस अभ्यासको एक भागको रूपमा, नेटो सदस्य देशका सैनिकहरूले कडा चिसोमा नर्वेली सेनासँग ‘ट्रेनिंग र सञ्चालन’ गरिरहेका थिए ।
नाटोको यो वर्षको अभ्यासमा २७ देशका करिब ३० हजार सेना, २२० विमान र ५० जहाज सहभागी छन् । गैर- नेटो सदस्यहरू फिनल्याण्ड र स्वीडेन पनि सहभागी छन् । अभ्यास मार्च 14 मा सुरु भयो र अप्रिल 1 मा समाप्त हुनेछ । दुर्घटनाको कुनै कारण दिइएको छैन, तर नर्वेली सेनाले अभ्यास योजना अनुसार जारी रहने बताएको छ ।