राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका र ताइवानबीच १० करोड डलरको क्षेप्यास्त्र सम्झौतालाई अनुमोदन गरेको छ । यस क्षेप्यास्त्र सम्झौताको उद्देश्य चीनको बढ्दो दबाबलाई ध्यानमा राख्दै ताइवानको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु हो ।
अमेरिकी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यस क्षेप्यास्त्र सम्झौताको स्वीकृतिको जानकारी दिएको हो । चीनको राजधानी बेइजिङमा हिउँदे ओलम्पिक खेलकुद आयोजना भइरहेको र त्यसको फलस्वरूप देशमा राष्ट्रियताको भावना उत्कर्षमा पुगेको छ ।
खेलकुद सकिएपछि ताइवानप्रति चीनको अडान अझ कडा हुने आशंका गरिएको छ । चीनले ताइवानलाई आफ्नो भागको रूपमा लिन्छ ।
हालैका महिनामा चिनियाँ लडाकु विमानहरूले ताइवानको आकाशमा उडान भरेका छन् । यो सम्झौता ताइवानलाई आफ्नो अवस्थित वायु-रक्षा क्षेप्यास्त्र प्रणाली र ताइवानले अमेरिकाबाट प्राप्त गरिरहेको उन्नत अमेरिकी मिसाइलहरू तैनाथ गर्न मद्दत गर्ने हो । ताइवानको रक्षा मन्त्रालयले यो सम्झौता अनुमोदन गरेकोमा अमेरिकालाई धन्यवाद दिएको छ ।