पाकिस्तानको सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीशले राजधानी इस्लामावादमा सपथ लिएकी छिन । ५५ वर्षीया आयशा मलिक अहिले मुस्लिम बाहुल्य देशको सर्वोच्च अदालतमा १६ अन्य पुरुष सहकर्मीहरूसँग बेन्चमा बस्छिन् ।
वकिल र कार्यकर्ताहरूले पाकिस्तानको पुरुषप्रधान समाजमा महिलाको प्रतिनिधित्व पाउनका लागि दशकौंको संघर्षपछि यो एउटा दुर्लभ जित भएको बताए ।
केही वकिल र न्यायाधीशहरूले न्यायमूर्ति मलिकको नियुक्तिको विरोध गरे किनभने उनी अन्य उम्मेदवारहरू भन्दा कम वरिष्ठ देखिएका थिए । पाकिस्तानको न्यायपालिका ऐतिहासिक रूपमा रूढिवादी र पुरुष प्रधान रहेको छ ।
मानव अधिकार वाचका अनुसार सर्वोच्च अदालतमा महिला न्यायाधीश नभएको यो एक मात्र दक्षिण एसियाली देश थियो । यसबाहेक, पाकिस्तानको उच्च अदालतका न्यायाधीशमध्ये ४ प्रतिशत मात्रै महिला छन् ।
पाकिस्तान कलेज अफ ल र हार्वर्ड युनिभर्सिटीमा शिक्षा हासिल गरेका न्यायमूर्ति मलिकले पूर्वी पाकिस्तानको लाहोर सहरमा विगत दुई दशकदेखि उच्च अदालतको न्यायाधीशको रूपमा काम गरेकि छिन ।