You are currently viewing वीउवा सङ्घको नवआगन्तुक प्रजिअ ढकालसँग भेटघाट तथा छलफल
Photo: BCCI, Birgunj

वीउवा सङ्घको नवआगन्तुक प्रजिअ ढकालसँग भेटघाट तथा छलफल

वीरगञ्ज, कार्तिक १,

वीरगञ्ज उद्योग वाणिज्य (वीउवा) सङ्घले एक कार्यक्रम बीच सङ्घकै कार्यकक्षमा पर्साका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग भेटघाट तथा छलफल गरेको छ ।

उक्त कार्यक्रममा वीउवासङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र बोकेको अपार सम्भावना व्यक्त गर्दै यस क्षेत्रका सामु रहेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे प्रकाश पार्नु भएको थियो । उहाँले वीरगञ्ज लगायत पर्सा–बारा क्षेत्रमा आर्थिक क्रियाकलाप बढी हुने र खुल्ला नाका भएकोले आपराधिक गतिविधि सोही अनुपातमा हुन सक्ने भएकोले सोही अनुरुपको सुरक्षा व्यवस्थाको प्रबन्धको लागि आग्रह गर्नुभएको थियो । त्यस्तै ७० प्रतिशत जति कार्गो यसै नाकाबाट आयात हुने गरेको र राष्ट्रिय राजस्वमा ५०–६० प्रतिशतको योगदान यस क्षेत्रको रहेकोले सोही अनुरुप यस क्षेत्रको भौतिक पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रजिअ ढकालले पर्सा जिल्लावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न तथा आपराधिक गतिविधिलाई पूर्ण रुपमा निरुत्साहित तुल्याउने तर्फ आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । शान्ति सुरक्षा कायम राख्न निजीक्षेत्रका साथै सर्वसाधारणको समेत भूमिका अपरिहार्य रहेकोले समन्वय र सहकार्यको लागि आग्रह गर्नुभयो । वीरगञ्जको भौतिक विकासको लागि पनि प्रशासन र निजीक्षेत्र समन्वय एवम् सहकार्य गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

वीउवासङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, पूर्व अध्यक्ष अशोक वैध, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, का.स.स. सुमन क्याल, शिवजीप्रसाद साह, अवधेश सरावगी लगायतका वक्ताहरुले वीरगञ्जमा हुने ध्वनि प्रदूषण, बजार क्षेत्रमा हुने ट्राफिक व्यवस्थापन, औद्योगिक कोरिडोरमा शान्ति सुरक्षाको व्यवस्था, बिन्दवासिनी–वीरगञ्ज सडकखण्डमा दिनहुँ हुने गरेको जामलाई व्यवस्थित गर्नुपर्ने, वीरगञ्ज–रक्सौल मितेरी पुलको जीर्णोद्वार गर्नुपर्ने, वीरगञ्ज–रक्सौल बीचको अवैध व्यापारलाई निरुत्साहित गर्नुपर्ने लगायतका सुझावहरु प्रजिअ ढकाललाई दिनुभयो ।

कार्यक्रममा सङ्घका उपाध्यक्ष माधव राजपालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा सङ्घका पदाधिकारी, पूर्व अध्यक्ष, का.स.स., उद्योगी व्यापारीहरुको उपस्थिति रहेको कुरा सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply