मलेसियाको नेभल बेस नजिकै ठूलो दुर्घटना भएको छ । जेष्ठ महिनामा हुने एउटा समारोहका लागि रिहर्सल गरिरहेका रोयल मलेसियन नेवीका दुईवटा हेलिकप्टरहरू हावामा एक आपसमा ठोक्किएको छ ।
उक्त दुर्घटनामा करिब १० जनाको मृत्यु भएको छ । रोयल मलेसियन नेभी परेडको रिहर्सलको क्रममा दुर्घटना भएको मलेसियन नौसेनाले जनाएको छ । मलेसियाली नौसेनाले मारिएका सबैजना नौसेनाका चालक दलका सदस्य रहेको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार मङ्गलबार आज बिहान पेराकको लुमुट नेभल बेसमा दुर्घटना भएको हो । एउटा हेलिकप्टरको रोटर अर्कोसँग ठोक्कियो, जसको परिणामस्वरूप दुर्घटना भयो ।
एउटा हेलिकप्टर रनवेमा दुर्घटनाग्रस्त भयो । अर्को नजिकैको स्विमिङ पुलमा ठोक्कियो । सबै शवलाई लुमुट आर्मी बेसको अस्पतालमा पठाइएको छ जहाँ उनीहरूको पहिचान गरिनेछ ।
नौसेनाको ९० औँ वार्षिकोत्सव समारोहको तयारीका लागि उत्तरी पेराक राज्यको नौसेना आधारमा हेलिकप्टरहरू प्रशिक्षणमा भाग लिइरहेका बेला दुर्घटना भएको नौसेनाले एक संक्षिप्त विज्ञप्तिमा जनाएको छ । नौसेनाको ९० औँ वार्षिकोत्सव अर्को महिना छ । “दुईवटा हेलिकप्टरमा सवार सबैजनाको घटनास्थलमै मृत्यु भयो”, विज्ञप्तिमा भनिएको छ ।