बैशाखको महिना र साल २०७४ जब निशान्त घिमिरेले ट्रोल बीरगञ्ज नामको फेसबुक पेज बनाए, शायद उनलाई विश्वास थिएन कि छोटो समय मै यो पेजले हजारौ फेसबुक प्रयोगकर्ताहरुको मन जित्न सफल हुन्छ ।
तर आज उनले सृजना गरेका पेज बीरगञ्जेली र पर्सेली मात्र नभई देश बिदेश बसिरहेका सम्पूर्ण नेपालीहरुको मन जितिरहेको छ ।
ट्रोल बीरगञ्ज (Troll Birgunj) पेजका प्रयोगकर्ताहरुलाई छ जनाको टिमले निकै मेहनत गरेर तयार पारेका विभिन्न सामाग्रीहरुले समाजमा रहेका जल्दाबल्दा विषयहरुमाथि व्यङ्गात्मक प्रहार गर्नुका साथै दुःखी अनुहारमा हाँसो ल्याउने काम पनि गरेको छ । निशान्त अनुसार अहिले उनको टिममा राहुल वर्णवाल, गोपाल कर्ण, सागर मिश्र, प्रशान्त घिमिरे र श्रीजल नेपाल रहेका छन् ।
प्रयोगकर्ताहरुले समेत पठाउने गरेका विभिन्न विषय तथा फोटोहरुलाई प्रयोग गरेर उदास मनलाई हँसाउने कामले गर्दा नै उनको पेजलाई मनपराइदिने मानिसहरुको चाँप बढिरहेको कुरा घिमिरेले पपुलरसिसलाई बताए । उनको पेजलाई मनपराउनेहरुको सङ्ख्या १५ हजार नाघेको छ ।