भदौ २८, सुनसरी,
सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
भदौ २८ गते बिहान २:५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते दुवै जनालाई उद्धार गरी बिहान ३:२३ बजे उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो।
उपचारका क्रममा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका–३ निवासी २९ वर्षीय पारस थापाको बिहान ५:११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, मोटरसाइकलको पछाडि सवार जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी तथा इनरुवा नगरपालिका–३ निवासी ३४ वर्षीय सागर रेग्मीको बिहान ४:५२ बजे उपचारकै क्रममा मृत्यु भएको हो।
घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

