म्याग्दी, २२ भदौ,
म्याग्दीको बेनी नगरपालिका–२ खबरा निवासी ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन्।
प्रहरीका अनुसार २६ वर्षीय आशिष बरुवालले सोमबार बिहान करिब ११ः३० बजे मनकुमारीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएका थिए। घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीले खोजतलास गर्ने क्रममा बेनी नगरपालिका–२ स्थित हाडेभिरमा भाग्दै गरेको अवस्थामा बरुवाललाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका बरुवालमाथि घटनाबारे थप अनुसन्धान तथा प्रमाण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

