भाद्र १६, बारा,
बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको अवस्थामा भारतमा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राजेश हराएको सूचना प्राप्त भएपछि खोजतलास गर्ने क्रममा २०८३/०५/११ गते बिहान करिब १०:३० बजे भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्ला, सुगौली थाना क्षेत्रको सिंहा नदी किनारमा मृत अवस्थामा फेला परेका थिए।
घटनाको अनुसन्धानका क्रममा संकलित सीसीटीभी फुटेज, स्थानीय व्यक्तिहरूको भनाइ तथा भारतीय प्रहरीसँगको समन्वयबाट राजेशलाई विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका १७ वर्षीय परिवर्तित नाम जिल्ला ३३ (A)/०८४८ ले अपहरण गरी भारत लगेको र कर्तव्य गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले अपहरण तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी आरोपितलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिलाई जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

