साउन ३०, झापा: झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।
प्रहरीका अनुसार बाटो काट्ने क्रममा झापा गाउँपालिका–३ निवासी अन्दाजी ६५ वर्षीय इशनलाल गणेशलाई बालुवा बोकेको ना.५ ख ६४९० नम्बरको टिपरले ठक्कर दिएको थियो। दुर्घटना करिब १७:२० बजे भएको हो।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा ढुंगा प्रहार गरी तोडफोडसमेत गरेका थिए। घटनामा संलग्न टिपर चालक झापा गाउँपालिका–३, कामटोलीका अन्दाजी ३६ वर्षीय फागुलाल राजवंशीलाई इलाका प्रहरी कार्यालय कुमरखोदले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोत: नेपाल प्रहरी

