You are currently viewing युट्युबमार्फत साम्प्रदायिक द्वेष फैलाएको आरोपमा भुसाल पक्राउ

युट्युबमार्फत साम्प्रदायिक द्वेष फैलाएको आरोपमा भुसाल पक्राउ

काठमाडौं, साउन १७: नेपाल प्रहरीको साइबर ब्युरोले युट्युबमार्फत भ्रामक तथा साम्प्रदायिक भावना भड्काउने सामग्री प्रसारण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

साइबर ब्युरोका अनुसार “NEPALI KHABAR TV” नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका व्यक्तिले सामाजिक सञ्जालमा दर्शक र फलोअर्स बढाउने तथा आर्थिक लाभ लिने उद्देश्यले भ्रामक सूचना, अफवाह, झुटा तथा धार्मिक सद्भाव खलबल्याउने सामग्री निरन्तर प्रसारण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार ती सामग्रीहरूले महिला समुदायलाई अपमानजनक ढंगले प्रस्तुत गर्नुका साथै विभिन्न जाति, धर्म र समुदायबीच घृणा तथा वैमनस्य फैलाउने प्रयास गरेको पाइएको छ। यस्ता गतिविधिले सामाजिक सद्भाव, शान्ति र सार्वजनिक सुरक्षामा समेत नकारात्मक असर पार्न सक्ने प्रहरीको भनाइ छ।

प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा उक्त युट्युब च्यानल सञ्चालनमा संलग्न रहेको आरोपमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ स्थायी घर भई हाल रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नं. १३ बस्ने ३९ वर्षीय जनक भुसाललाई साउन १६ गते बुटवलबाट पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ।

पक्राउ परेका भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोत: नेपाल प्रहरी साइबर ब्युरो (प्रेस विज्ञप्ति)

Leave a Reply