मोरङ, साउन १५
मोरङको रतुवामाई नगरपालिका–१०, सोमबारेमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म बङ्गडा चुनिबारीको संयुक्त टोलीले १ हजार ३३ किलो ४८४ ग्राम तयारी गाँजासहित मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो।
संयुक्त टोलीले उर्लाबारी–आमबारी सडकखण्डमा उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकलाई शंकाको आधारमा रोकी चेकजाँच गरेको थियो।
जाँचका क्रममा ट्रकको पछाडिपट्टि धानको भुसाले भरिएका बोरामुनि कालो प्लास्टिकमा प्याक गरिएका ३१ वटा पोकामा लुकाएर राखिएको १ हजार ३३ किलो ४८४ ग्राम तयारी गाँजा फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा धनकुटाको पाख्रीबास नगरपालिका–९, हिले निवासी २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरिएको छ। प्रहरीले गाँजा, मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

