संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर १ बिलुवा दोभान स्थितमा पहिरोले पुरिएर एकाघरका २ जनाको मृत्यु र १ जना घाईते भएका छन् ।
मोतीमाया राईको घरमा पहिरो संगै ढुंगा झर्दा टाटी बेरा भएको घर भित्र रहेका ६ जना मध्ये घर धनि ५५ वर्षीया मोतीमाया राई र बुहारी २७ वर्षीया समिक्षा राईको ढुङ्गाले किचेर घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
छोरी २७ वर्षीया रबिना राई घाईते भएकी छिन् । घाईते रबिनालाई थप उपचारको लागी नेपाली सेनाको हेलीकप्टर द्वारा उद्धार गरी सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाण्डौ लगिएको छ ।
घरका अन्य सदस्य ज्वाई नाताका ३३ वर्षीय मनि कुमार राई, नाती १२ वर्षीय अमिर राई र नतिनी ४ वर्षीया समृद्धी राईलाई सकुशल उद्धार गरिएको छ ।
घटनास्थलमा प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटि गई उद्धार कार्य गरिएको हो । घटनास्थल सदरमुकामबाट ५ घण्टा पश्चिम उत्तर पैदल दुरीमा रहेको कुरा प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।