You are currently viewing रुसी राष्ट्रपति पुटिन २४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमणमा

रुसी राष्ट्रपति पुटिन २४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमणमा

नेभा, रुस, ५ असार,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मंगलवार राति उत्तर कोरिया पुगेका छन् । पुटिन २४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्दैछन् ।

पुटिनले अमेरिकासँग बढ्दो द्वन्द्वपछि प्रतिबन्धको सामना गर्न दुई देश मिलेर काम गर्न चाहेको रुसी समाचार एजेन्सीहरूले बताएका छन् । पुटिनको भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ ।

समाचार एजेन्सी आरआइए-नोभोस्ती र इन्टरफ्याक्सका अनुसार उत्तर कोरियाली नेता किम जोङ-अनले प्योङयाङको विमानस्थलमा पुटिनलाई स्वागत गरेका थिए ।

उत्तर कोरियाको राजधानी प्योङयाङको सडकलाई पुटिनको तस्विर र रुसी झण्डाबाट सजाइएको छ । “हामी रुसी महासङ्घका राष्ट्रपतिलाई न्यानो स्वागत गर्दछौँ”, एउटा भवनमा ब्यानर लेखिएको थियो ।’’ पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभका अनुसार राष्ट्रपतिसँग उपप्रधानमन्त्री डेनिस मन्टुरोभ, रक्षामन्त्री आन्द्रेई बेलोसोभ र विदेशमन्त्री सर्गेई लावरोभसहित धेरै शीर्ष अधिकारीहरू छन् ।

भ्रमणको क्रममा व्यापक रणनीतिक साझेदारीमा सम्झौता सहित धेरै कागजातहरूमा हस्ताक्षर हुने उनले बताए ।

श्रोत: इन्डिया टिभी

Leave a Reply