अफगानिस्तानमा महिलाको अवस्था निकै खराब छ । तालिबानले बागडोर सम्हालेपछि महिलाको अवस्था बिग्रँदै गएको छ ।
तालिबान सरकारले महिलामाथि धेरै प्रतिबन्ध लगाएको छ । अब यस क्रममा तालिबानका सर्वोच्च नेता मुल्लाह हिबतुल्ला अखुन्दजादाले महिलाविरुद्ध नयाँ आदेश जारी गरेका छन् । आदेशअनुसार आफ्नो पतिबाहेक अन्य पुरुषसँग सम्बन्ध राखेको आरोपमा दोषी ठहरिने कुनै पनि महिलालाई ढुङ्गा हानेर मृत्युदण्ड दिइनेछ ।
मुल्लाह हिबतुल्ला अखुन्दजादाको अडियो सन्देश पनि सार्वजनिक भएको छ । अडियो सन्देशमा अखुन्दजादाले पश्चिमी देशहरूको लोकतन्त्रलाई चुनौती दिए र इस्लामिक कानून शरियाको कडा कार्यान्वयनको आदेश दिए । “जब हामी उनीहरूलाई ढुङ्गा हानेर मार्छौँ, यो महिला अधिकारको उल्लङ्घन हो भनी तपाईँ भन्नुहुन्छ, तर व्यभिचारका लागि यो सजाय चाँडै लागु हुनेछ”, तालिवान नेताले भने ।
दोषी महिलाहरूलाई सार्वजनिक रूपमा कोर्रा र ढुङ्गा प्रहार गरिनेछ । “के महिलाहरूले पश्चिमी देशहरूले कुरा गरिरहेका अधिकारहरू चाहन्छन् ? त्यस्ता सबै अधिकारहरू शरिया र धर्मगुरुहरूको रायको विरुद्धमा छन् ।
उही धर्मगुरुहरू जसले पश्चिमी लोकतन्त्रलाई उल्टाए । हामीले पश्चिमीहरू विरुद्ध २० वर्षसम्म लडेका थियौँ र आवश्यक परेमा हामी अर्को २० वर्षसम्म लड्नेछौँ । हामीले काबुल पुनः कब्जा गर्दा हाम्रो काम समाप्त नभएको पनि तालिबान नेताले बताए । हामी चुपचाप बसेर चिया पिउने छैनौँ । हामी अफगानिस्तानमा शरिया फिर्ता ल्याउनेछौँ ।