नेपाल विद्युत प्राधिकरणले विगतमा रहेको लोडशेडिङको समयमा २०७० कार्तिक ३ गते डेडिकेटेड/ट्रंक फिडरबाट विद्युत लिन इच्छुक ग्राहकलाई प्रिमियम महशुलमा दैनिक २० घण्टाभन्दा बढी विद्युत आपूर्ति दिने भनेर सूचना जारी भए पश्चात् उद्योग प्रतिष्ठानहरु डेडिकेटेड/ट्रंक लाइनको उपभोग गरिआएका थिए ।
२०७५ जेठ १ गते लोडशेडिङ अन्त्य भइसकेको घोषणा भएपछि पनि २०७७ असारसम्म डेडिकेटेड/ट्रंक लाइनको प्रिमियम महशुलको बील पठाई विद्युत्त प्राधिकरणले अनुचित रकम असुल गर्न बारा-पर्सा औद्योगिक कोरीडोरका २३ उद्योगको लाइन काटिएको थियो ।
सो लाइन तत्काल जडान गर्न र समस्या समाधानको लागि उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग आग्रह गर्दै बीरगंज उद्योग वाणिज्य (बीउवा) संघ समेतले प्रेस विज्ञप्ति जारी गरेको थियो ।
व्यवसायीहरुको समस्या समाधानका लागि हाल सरकारले उच्चस्तरीय आयोग गठन गर्नुका साथै उद्योगमा लाइन जडान भएको छ । अवरुद्ध विधुत आपूर्ति सुचारु भएपछि बीउवा सङ्घले एक विज्ञप्ति मार्फत सरकारप्रति आभार व्यक्त गरेको छ ।