पुष २० गते जिल्ला प्रहरी कार्यालय, सप्तरी तथा ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको संयुक्त टोलीले विशेष सुराकीको आधारमा जिल्ला सप्तरी खडक नगरपालिका वडा नम्बर ७ कल्याणपुर चोक स्थितबाट एकजना व्यक्तिलाई लागूऔषध गाँजा सहित पक्राउ गरेको छ ।
पुर्व पश्चिम महेन्द्र राजमार्ग सडक खण्डमा बिभिन्न सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा पुर्वबाट पश्चित तर्फ जादै गरेको जिल्ला धनकुटा सहिद गाउँपालिका वडा नम्बर ४ बस्ने शेर बहादुर राईको छोरा अन्दाजी ३२ वर्षको विशेष राईलाई पक्राउ गरिएको छ ।
निजले चलाई ल्याएको बालुवा लोड भएको को. १ ख ५८३१ नम्बरको आईचर टिपर गाडिलाई रोकी चेकजाँच गर्दा उक्त टिपर गाडिको पछाडीको भागमा लोड भएको बालुवा भित्र हेर्दा अबैध रुपमा लुकाई छिपाई ल्याएको लागूऔषध गाँजा जस्तो देखिने पदार्थ २८ बोरा फेला परेको थियो ।
लागूऔषध गाँजा फेला पर्दा तत्कालै स्थानिय व्यक्तिहरुको रोहवरमा मान्यताप्राप्त तराजुबाट तौल गर्दा १० क्वीन्टल ६ किलो रहेको थियो ।
निज चालकको शरीर चेकजाच गर्दा निजको साथबाट रु १ लाख नगद र दुई थान मोबाइल फेला परेको हुँदा उक्त गाँजा, नगद र टिपर रीत पूर्वक बरामद गरी उक्त नम्बरको टिपर चालक बिशेष राईलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।