अफ्रिकी देश कंगोमा बाढी र वर्षाले ठूलो क्षति पुर्याएको छ । बाढी र वर्षाका कारण मानिसहरुको घर, पसल र संस्था प्रभावित भएको छ ।
यस भयानक प्रकोपमा हालसम्म २२ जनाको मृत्यु भइसकेको छ भने ४०० भन्दा बढी बेपत्ताको खोजी कार्य जारी छ । मंगलबार यो जानकारी दिँदै एक स्थानीय अधिकारीले अफ्रिकी देश कंगोमा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा २२ जनाको मृत्यु भएको बताए ।
कसाई मध्य प्रान्तका गभर्नर जोन काबेयाले कानंगा जिल्लामा केही घण्टाको वर्षाले धेरै घर र निर्माण स्थलहरू ध्वस्त भएको बताएका छन् ।
उनले सो क्षेत्रमा खोजी कार्य भइरहेको जानकारी दिए । सुरुमा १७ जनाको मृत्यु भएको र मंगलबार थप पाँच जनाको मृत्यु भएको पुष्टि भएको बताए ।
पर्खाल भत्किँदा बिकुकुमा रहेका एकै परिवारका १० जनाको मृत्यु भएको काबेयाले बताए । यसअघि मे महिनामा पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाले बाढी र पहिरोमा परी ४०० भन्दा बढी मानिसहरुको ज्यान गएको थियो ।