You are currently viewing बीरगञ्जका मेयर सरावगीज्यूलाई नागरिकका तर्फबाट भट्टराईज्यूको खुल्ला पत्र

बीरगञ्जका मेयर सरावगीज्यूलाई नागरिकका तर्फबाट भट्टराईज्यूको खुल्ला पत्र

आदरणिय मेयर साहिब, नमस्कार…

यस विकट परिस्थितिमा पनि हालसम्म हामी बीरगञ्जवासी ठिकठाकै अवस्थामा छौं भन्नुपर्यो । केहि मानिसहरु कोरोनाको संक्रमण भई सरकारी अस्पतालमा कसरी सेवा लिइरहनु भएको छ भन्ने खबर कथाव्यथा हामी टिभी, रेडियो, सामाजिक सञ्जाल, आदिबाट थाहा पाइरहेका छौं ।

तपाईमा नगरको अभिभावकत्व लिने क्षमता देखेरै होला बीरगञ्जवासीले तपाईलाई यस्तो ठूलो पदमा आफ्नो अमूल्य मतले बिजयी बनाएका थिए । तपाई आफ्नो व्यापारको क्षेत्रमा अब्बल नम्बरको खेलाडि भएको तर राजनीतिमा शुन्य ज्ञान भएकोले ‘सरावगीले जितेर केही गर्न सक्दैन’ भन्नेहरुलाई पछाडि पार्दै तपाईले जित हासिल गर्दै एउटा इतिहास बनाउन सफल हुनुभएको कुरा यहाँका मानिसहरुले बिर्सेका छैनन् होला । बिजयी हुने बित्तिकै तपाईले खाएको कसम र प्रतिज्ञाको भिडियो रेकर्डहरु अहिले पनि भाइरल भइरहेको हामी देखिरहेका छौं ।

तपाईको जितमा प्रत्यक्ष वा अप्रत्यक्षरुपले पर्साका पत्रकारहरुले पनि ठूलो भूमिका खेलेका थिए ।पत्रकारहरुले तपाईलाई कुशल योद्धाको रुपमा चित्रण गरी जनमानसमा सकरात्मक वातावरण बनाएका थिए । एकदुईजनाले नियतवश गलत लेखेर तपाई बदनाम हुने होइन जनताले त्यसको मूल्यांकन गर्दैछन्  एकदुई जनाले गर्दा सबै राम्रा पत्रकारहरुको गुण चट्टकै बिर्सिनु भयो जस्तो लाग्यो । तपाईको कार्यहरुलाई नकरात्मक टिप्पणी भयो भनेर सबै पत्रकारहरुमाथि ‘सेन्सरशिप’ गर्नुपर्छ भनी बडो नमिठो वक्तव्यले यतिखेर सम्पूर्ण पत्रकारहरु दुखी भएका छन्, जसको चौतर्फि विरोध पनि भइरहेको छ । गलत गर्नेहरुका बिरुद्ध कानुनीरुपमा जान छुट्टै बाटो पनि हुन सक्छ ।

 

आफ्नो ज्यान जोखिममा राखेर अहोरात्री कोरोना सम्बन्धि जानकारी प्रसारण गर्ने, सचेत गर्ने, तपाईलाई समेत बाटो देखाउने, दमन तथा अन्यायबिरुद्ध आवाज उठाउने, सुधारका लागि घचघचाउने, भ्रष्टाचारको विरुद्ध बोल्ने, जस्ता जनताको सेवामा खटिरहेका पत्रकारहरुलाई राहतको विशेष प्याकेज ल्याउनुको सट्टा उनीहरुलाई आफ्नो कार्य सम्पादनमा बाधा सृजना गर्नुका साथै मनोबल तोड्ने गरी जुन किसिमले जिस्क्याउने काम तपाईले गरिरहनु भएको छ त्यो ज्यादै निन्दनीय छ । तपाई एक्लै केहि गर्न सक्नु हुन्न, काम गर्ने थप उर्जा पाउन सक्नुहुन्न । पत्रकारहरु समाजको आइना भएकोले उनीहरुबिना तपाईले गरेको कार्य सबैले देख्न सक्दैन ।

तपाईको नगरमा गुणात्मक हिशाबले बढिरहेका कोभिडका बिरामीहरुका लागि गरिएको व्यवस्था देखेर कसको मन छियाछिया हुँदैन र ? खान, बस्न, सुत्न र उचित उपचारको कुरा सामाजिक सञ्जालमा देखेर लाग्छ कि उनीहरुलाई कालापानीको सजाय नै दिइएको छ । आज मात्रै किरा परेको चामल नै पकाएकोले भातमा मरेको किरासम्म देखिएको तस्विर भाइरल बनेको छ । सरसफाईको हालत एकदमै दयनिय छ । नबिर्सिनुहोस् कि बिरामी जोकोहि पनि हुन सक्छ । तपाईको समाजका कोहि बिरामी भयो भने त्यो अस्पतालको व्यवस्था स्विकार्य हुनसक्छ ? के मानविय धर्म यहि हो ?

तपाई आफै मेयर जस्तो शक्तिशालि पदमा विराजमान हुनुहुन्छ । तपाईले त सबैलाई सहयोग गर्ने हो न कि कसैलाई सहयोगका लागि हारगुहार गर्ने हो । तैपनि तपाईको एक इशारामा केहि दाताहरु खडा हुन तैयार अवस्थामा छन्, बुद्धिजिवी, उद्योगी, व्यापारी, पत्रकार, सर्वसाधारण, मजदुर, विभिन्न संघसंस्था, आदि सबै तपाईसँग सहकार्य गर्न पनि तयार छन् । यसको उदाहरण सानो पाइला संस्था हो जसले उचित नास्ताको व्यवस्था मिलाएको छ । विभिन्न समाज सेवीहरु त अझै गुपचुप तरिकाले गरिब र असहायहरुलाई सहयोग गरिरहेका छन् । तपाईमा त नेपाललाई नै सहयोग गर्न सक्ने क्षमता छ । तपाईको आफ्नै साढे चार अर्वको बजेट छ जसलाई यसपालि बरु नगरवासीको ज्यान जोगाउने र बिरामीहरुको उचित व्यवस्थापन गर्ने कार्यमा लगाउन सकिन्छ । चेकजाँचको दायरालाई बढाउन सकिन्छ । क्वारेनटाइन र आइसोलेसन वार्डहरुका साथै स्वास्थ्य सुविधा बढाउन सकिन्छ ।

यसो गर्ने हो भने तपाईको नाम इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ । तपाईको जय हुनेछ । यसलाई अन्यथा नलिनूहोला । यो मेरो मात्र होइन पुरै नगरवासीको विनम्र अनुरोध हो ।

 

– तपाईको उहि शुभेक्षु शुशिल भट्टराई, बिर्ता टोल, बीरगञ्ज

Leave a Reply