नेपालले सन् २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा गरेर विश्वबाट लाखौको सङ्ख्यामा पर्यटकहरुलाई नेपाल भित्रयाउने कार्यक्रमहरु आयोजना गरिरहँदा बीरगञ्ज महानगरपालिकाले यस्तो हर्कत गर्ला कसैले सोचेका थिएनन् होला ।
बीरगंज महानगरपालिकाले संकराचार्य गेटमा थुपार्दै गरेको फोहोर….(फोटो: प्रकाश सिंह ठकुरी )
बीरगञ्ज नाका जसलाई गेट वे आफ नेपालको नामले पनि चिनिन्छ, जुन नाकाबाट लाखौको सङ्ख्यामा भारतिय लगायत तेस्रो मुलुकका पर्यटकहरु पनि नेपाल भ्रमण गर्न प्रवेश गर्छन् त्यही नाकालाई दुर्गन्धित, प्रदुषित तथा फोहरको डुङ्गुरले भद्दा बनाउने काम महानगरपालिका आफैले गरेर बीरगञ्जवासी मात्र नभई सम्पूर्ण नेपालीहरुको शिर तल निहुराउने कार्य गरेको छ । एकातिर ‘अतिथि देवोः भवः’ भन्ने र अर्कोतिर देवता समान अतिथिलाई स्वागत फोहरको थुप्रोले गर्ने । कस्तो घटिया सोच ।
शहरबाट सङ्कलित फोहरको डुङ्रलाई गेट वे आफ नेपाल, दसगजा क्षेत्रमा महानगरपालिकाले थुपारेर सङ्कराचार्य द्वार वरिपरिको क्षेत्रमा मानिसहरुलाई नाक थुनेर आवतजावत गर्न बाध्य मात्र गरेको छैन्, यसले नेपाल आउने तथा नेपाल भ्रमण गरेर फर्किर्ने पर्यटकहरुलाई कस्तो नराम्रो सन्देश दिएको छ त्यो त आउने समयले नै बताउला । एकातिर नेपाल सरकारले सुन्दर नेपालको प्रचारप्रसारमा जुटेको छ भने अर्कोतिर सुन्दर नेपाललाई कुरुप बनाउन यस्ता गैरजिम्मेवार गतिविधिले टेवा पुर्याइरहेका छ । यो त कसैले आफ्नो हातमा बञ्चरो बोकेर मद्दतको लागि कसैलाई बोलाइरहेको जस्तो भयो । महानगरपालिकाले बीरगञ्जलाई अझै सुन्दर बनाउन सक्दैन भने त्यसलाई कुरुप पनि बनाउने अधिकार कसैलाई छैन् ।
पहिला देखिको धुलोधुँवा अनि खराब सडक र अहिले सङ्कराचार्य द्वारमा महानगरपालिकाले थुपारेका फोहरको डुङ्गुरले मानव स्वास्थ्यमाथि नै ठूलो खेलवाड गर्न लागेकोले बीरगञ्ज तथा छिमेकी रक्सौलवासीहरु पनि चिन्तित बनेका छन् ।