मैले ठाकुरराम क्याम्पसमा पढाएको ३५ वर्ष भन्दा बढी भयो त्यस क्यापसमा भए गरेका धेरै उतार चढाव मैले एकदम नजिकबाट हेरेको छुँ । त्यहाँ पढेर राजनीतिमा लाग्ने युवाहरुको कसरी शोषण हुन्छ र आज कतिपय युवाहरु घरको न घाटको भएको मैले देखेको छु । त्यसकारण म आफ्नो अनुभव आजका युवाहरुसँग साट्न चाहन्छु । तपाईंहरु राजनीति गर्नुहोस् तर बुझेर । आफैसँग सोध्नुहोस्… के को लागि, कसको लागि र किन ? साथसाथै पढाईमा पनि अब्बल भएर देखाउनुहोस् । यदि पढाई छाडेर केवल नेताको पछाडि लागेर उसको मोहरा भएर लाग्नुहुन्छ भने आफूभन्दा धेरै सिनियर दाइहरुलाई सोध्नुस् उनीहरुको पीडा के कस्तो छ । उनीहरुको पूरै कुरा सुनेर मात्र आफ्नो सही दिसानिर्देश गर्नुस् । मेरो आफ्नो नितान्त विचारलाई एकपल्ट पढ्न अनि यस विचारप्रति आफ्नो धारणा व्यक्त गर्न वीरगन्जका सम्पूर्ण युवाहरुलाई आग्रह पनि गर्न चाहन्छु ।

नेताको मोहरा कहिल्यै नबन्नुस् । सबैभन्दा पहिला चेतनशिल बन्नुस्, बुझ्नुस्, त्यसपछि गहिरो छलफल पछि मात्र अघि बढ्नुस् र केही कुराहरूमा ध्यान दिनुस् । आफ्नो क्षमता चिन्नुस् । शिक्षा र सीपमा ध्यान दिनुस् । प्रश्न गर्न सिक्नुस् । अभिभावक सँग सम्वाद गर्नुस् ।
वीरगञ्ज नेपालको आर्थिक राजधानी र राजनीतिक चेतनाको एउटा बलियो केन्द्र हो । तर विगतका केही समय देखि वीरगन्जका ऊर्जावान युवाहरु सृजनशील र उद्यमशीलताको पछाडि लाग्नुको साटो राजनीतिक नेताहरूको स्वार्थ पूरा गर्ने मोहरा वा हतियार बनिरहेका देखेर उदेक लाग्छ । यो भन्दा पनि दुःखद कुरा, आफ्ना सन्तान गलत बाटोमा लागिरहँदा अभिभावकहरु किन मुकदर्शक बनेर हेरिरहेका छन् ? यसलेगर्दा वीरगन्जका युवाहरुको आत्मबल निरन्तर गुम्दै गएको देखिएको छ र उनीहरुको भविष्य अन्धकारतर्फ धकेलिंदै छ । मेरो विचारमा अभिभावकको मौनता एउटा गम्भीर गलती हो कुनै पनि समाजको मेरुदण्ड युवा हुन् भने युवाको मार्गदर्शक अभिभावक हुन् । वीरगञ्जमा आज धेरै अभिभावकहरु आफ्ना छोराछोरी नेताको पछि लागेर नारा जुलुस गर्ने, टायर बाल्ने वा सामाजिक सञ्जालमा गालीगलौज जस्ता अबब्य हरिक क्रियाकलाप गर्दा नि मौन छन् ।
आखिर किन ??
– भ्रम र डरः कतिपय अभिभावकहरुलाई लाग्छ कि नेताको पछाडि लाग्दा भोलि जागिर पाइन्छ वा शक्ति आर्जन हुन्छ । केही अभिभावकहरु भने सन्तानको विद्रोह वा राजनीतिक दबाबको कारण बोल्न डराउँछन् ।
– असरः अभिभावकको यही मौनताले युवाहरु आफूले गरेको काम सही हो भन्ने भ्रम सृजना भइरहेको हुन्छ । जब युवाहरु गम्भीर दुर्घटनामा पर्छन् तब मात्र अभिभावकहरुको आँखा खुल्छ, तर त्यति बेला सम्म धेरै ढिलो भै सकेको हुन्छ ।
नेताको मोहरा बन्दा गुम्दै गएको आत्मबल जब एकजना युवा रचनात्मक सोच छाडेर कुनै नेताको अन्धभक्त बन्छ, तब उसको व्यक्तिगत विकास रोकिन्छ । परनिर्भरता बढ्छ । सद्भाव घट्दै जान्छ । भविष्य अनिश्यता बढ्दै जान्छ ।
वीरगञ्जका सम्पूर्ण युवाहरुलाई सुझावः
नेताको मोहरा कहिल्यै नबन्नुस् । सबैभन्दा पहिला चेतनशिल बन्नुस्, बुझ्नुस्, त्यसपछि गहिरो छलफल पछि मात्र अघि बढ्नुस् र केही कुराहरूमा ध्यान दिनुस् । आफ्नो क्षमता चिन्नुस् । शिक्षा र सीपमा ध्यान दिनुस् । प्रश्न गर्न सिक्नुस् । अभिभावक सँग सम्वाद गर्नुस् ।
वीरगञ्जलाई फेरि ब्युताउँन र यहाँका युवाहरुको गुमेको आत्मबल फर्काउन अब अभिभावकहरुले मौनता तोड्नै पर्छ । आफ्ना सन्तान कुन बाटोमा हिडीरहेका छन् भनेर निगरानी राख्नुस् र उनीहरूलाई सही मार्गदर्शन दिनु आजको आवश्यकता हो । युवाहरुले पनि बुझ्नुपर्छ कि नेताहरुले उनीहरूलाई केवल चुनाव जित्ने साधन मात्र बनाउँदछन् । त्यसैले कसैको गोटी बन्न छाडेर आफ्नो भविष्य निर्माता आफै बन्नुस् । सृजशिल भन्नुस् । उद्यमशिल बन्नुस् । राजनीतिमा नै आफ्नो भविष्य देख्नु भएको छ भने आफ्नो नेतृत्व क्षमतालाई राम्रोसँग पहिचान गर्नुस् र अध्ययन गर्नुस्, चिन्तन गर्नुस्, राम्रोसँग मनन गर्नुस् । शुभकामना छ सम्पूर्ण वीरगन्जका युवाहरुलाई । भ्रष्टचार विरुद्ध एकजुट हुनुस् र सुन्दर, सफा, विकसित, सम्मुनत वीरगन्ज बनाउनुस् । भ्रष्ट नेताहरुको पछाडि नलाग्नुस् ।
– डा. शुशिल भट्टराई (लेखक/स्तम्भकार)

