सिरहा, २८ भदौ,
सिरहामा प्रहरीले १७ ग्राम ५३० मिलिग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा भारतबाट लागूऔषध खैरो हेरोइन खरिद गरी सिरहा जिल्लाका विभिन्न स्थानमा बिक्री गर्दै आएको आरोपमा चार जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूलाई भदौ २८ गते सिरहाको गोलबजार नगरपालिका–१२, बेतौनास्थितबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूको साथबाट १७ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन, पाँच थान मोबाइल फोन र एक थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१२ बेतौना बस्ने २० वर्षीय अरविन्द कुमार सिंह, गोलबजार नगरपालिका–१२ बेतौना बस्ने ३२ वर्षीय भुनेश्वर मण्डल, गोलबजार नगरपालिका–१२ बेतौना बस्ने २७ वर्षीय वीरेन्द्र कुमार साह तथा गोलबजार नगरपालिका–६ बस्ने ३३ वर्षीय रितेश यादव रहेका छन्।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय गोलबजार, सिरहामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
बरामद सामग्री: १७ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन, ५ थान मोबाइल फोन र १ थान डिजिटल तराजु।

