पाकिस्तानका नेता तथा लोकप्रिय टेलिभिजन प्रस्तोता अमिर लियाकतको बिहीबार कराँचीमा रहस्यमयी परिस्थितिमा मृत्यु भएको छ । पाकिस्तान तहरीक ए इन्साफ ‘पीटीआई’ का नेता खुदाद कोलोनीमा रहेको आफ्नो घरमा बेहोस अवस्थामा फेला परेका थिए र उनलाई गम्भीर अवस्थामा निजी अस्पतालमा लगिएको थियो, पाकिस्तानी स्थानीय मिडियाले बिहीबार रिपोर्ट गरेको छ । तर अस्पताल पुग्नुअघि नै लियाकतको मृत्यु भयो ।
पाकिस्तानको स्थानीय मिडिया जियो टिभीको रिपोर्टका अनुसार लियाकतले बुधबार राति असहज महसुस गरिरहेका थिए तर उनले अस्पताल जान मानेनन् । आमिर लियाकतको घरमा काम गर्ने जावेदले भने कि बिहीबार बिहान लियाकतको कोठाबाट चिच्याएको आवाज आइरहेको थियो । तर कोठा भित्रबाट बन्द थियो । जब कोठा भित्रबाट आवाज बन्द भयो र जावेदको कुराको कुनै प्रतिक्रिया नआएपछि उनका घरेलु कर्मचारीले अमिर लियाकतको कोठाको ढोका तोडेका थिए ।
अस्पताल पुर्याएपछि चिकित्सकले लियाकतको अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको बताए । रहस्यमयी परिस्थितिमा भएको आमिर लियाकतको मृत्युपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले लियाकतको कराँचीको खुदादाद कोलोनीमा रहेको घरमा पनि खोजी गरेको थियो । अमिर लियाकतको मृत्युका सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ पूर्वले सीसीटीभी फुटेज जाँच गरी प्रमाण संकलन गर्ने बताए । लियाकतको रहस्यमय मृत्यु भएकाले प्रहरीले पोस्टमार्टम गर्ने निर्णय गरेको छ ।