साउन १९, काठमाडौं: आकर्षक आम्दानीसहित वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ शंखमूल बस्ने २६ वर्षीय रिगबान शेष रहेका छन्। उनले एक जनालाई बेलायत (यूके) पठाइदिने प्रलोभन देखाई रु. ७ लाख ठगी गरेको आरोप लागेको छ।
यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ शंखमूल बस्ने ४४ वर्षीय नवराज भट्ट पनि पक्राउ परेका छन्। उनले एक जनालाई क्रोसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी गरेको प्रहरीले जनाएको छ।
दुवै घटनामा पीडितहरूबाट वैदेशिक रोजगारीका नाममा रकम उठाएर पनि विदेश नपठाएको तथा रकम फिर्ता नगरेपछि उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
स्रोत: नेपाल प्रहरी

