पोखरा, साउन १५,
कास्की प्रहरीले पोखराबाट ५ किलो ४५० ग्राम लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा गरिएको सवारी चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीअन्तर्गत अस्थायी प्रहरी पोस्ट मुडुवाबाट खटिएको टोली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराको संयुक्त टोलीले पृथ्वीराजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२, मजुवा क्षेत्रमा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.प्र. ०१–००१ ख ००२४ नम्बरको बस रोकी जाँच गरेको थियो।
चेकजाँचका क्रममा बसमा सवार मकवानपुरको थाहा नगरपालिका–८ निवासी ३२ वर्षीया ज्योति श्रेष्ठको साथबाट ५ किलो ४५० ग्राम गाँजा र एउटा मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गाँजा, मोबाइल फोन तथा पक्राउ परेकी महिलालाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।


