दाङ, साउन १६,
दाङ प्रहरीले १० लाख ७५ हजार रुपैयाँ बराबरका बिलबिजकविहीन मोबाइल तथा मोबाइलका सामग्री बरामद गरेको छ। नियमित सवारी चेकजाँचका क्रममा बरामद गरिएका सामग्री थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय पठाउने तयारी गरिएको छ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका–१, पुल्चोकस्थित पूर्व–पश्चिम राजमार्गमा नियमित सवारीसाधन चेकजाँच गर्ने क्रममा बिलबिजक नभएका मोबाइल तथा मोबाइलका सामग्री फेला पारेको हो।
प्रहरीका अनुसार बरामद सामग्रीमध्ये २२८ थान एन्ड्रोइड मोबाइलका डिस्प्ले, ३ थान एन्ड्रोइड मोबाइलका ब्याट्री, साथै १/१ थान आईफोन १६, आईफोन १३, आईफोन १२ र आईफोन ११ रहेका छन्।
बरामद गरिएका सामग्रीको अनुमानित मूल्य १० लाख ७५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। जसमध्ये २२८ थान एन्ड्रोइड मोबाइल डिस्प्लेको मूल्य ६ लाख ८४ हजार रुपैयाँ, ३ थान ब्याट्रीको ६ हजार रुपैयाँ, आईफोन १६ को १ लाख ८० हजार रुपैयाँ, आईफोन १३ को ७५ हजार रुपैयाँ, आईफोन १२ को ७० हजार रुपैयाँ तथा आईफोन ११ को ६० हजार रुपैयाँ रहेको छ।
बरामद गरिएका सम्पूर्ण सामग्री आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तु पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
![]()
स्रोत: नेपाल प्रहरी

