पोखरा, साउन १५,
कास्की प्रहरीले पोखरामा सवारी चेकजाँचका क्रममा विभिन्न प्रकारका लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिबाट ५४ एम्पुल लागूऔषध र एक थान मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, पोखरा र अस्थायी प्रहरी पोस्ट मजुवाबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका–३२, मजुवा स्थित पृथ्वीराजमार्गमा सवारी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा पोखरातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २४४४ नम्बरको बसमा सवार पर्वतको जलजला गाउँपालिका–२ निवासी ३१ वर्षीय रोजेश विश्वकर्मालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट डाइजेपाम १८ एम्पुल, फेनारगन १८ एम्पुल र बुप्रिनोर्फिन १८ एम्पुल गरी जम्मा ५४ एम्पुल लागूऔषध तथा एक थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
पक्राउ परेका विश्वकर्माविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोत: जिल्ला प्रहरी कार्यालय, कास्की


