You are currently viewing रुकुम पश्चिममा तीन किलो अफिमसहित दुई पक्राउ, प्रहरीमाथि खुकुरी प्रहारको प्रयासपछि हवाई फायर

रुकुम पश्चिममा तीन किलो अफिमसहित दुई पक्राउ, प्रहरीमाथि खुकुरी प्रहारको प्रयासपछि हवाई फायर

रुकुम पश्चिम, साउन ३१: रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४, छोटेबगर क्षेत्रमा करिब तीन किलोग्राम अफिमसहित दुई जना पक्राउ परेका छन्। पक्राउ गर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर दुवैलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा आठविसकोट नगरपालिका–३, स्यालाखदी निवासी २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका–२, स्याला निवासी २० वर्षीय गणेश वली रहेका छन्।

प्रहरीका अनुसार दुवै जना सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेको देखिएपछि चेकजाँचका लागि रोकेको थियो। सोही क्रममा टिकाराम बोहराले बोकेको झोलाको जाँच भइरहेका बेला गणेश वलीले अचानक खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए।

स्थिति नियन्त्रणबाहिर जान सक्ने देखेपछि प्रहरी सहायक निरीक्षक निरज बहादुर पालले एक राउन्ड हवाई फायर गरेका थिए। त्यसपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणपछि गरिएको शरीर तथा झोलाको खानतलासीका क्रममा करिब तीन किलोग्राम अफिमदुई थान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

Leave a Reply