विशेष सूचनाको आधारमा जेठ २१ गते इलाका प्रहरी कार्यालय, चैनपुर संखुवासभाबाट खटिएको चेकिङ टोलीले चैनपुर नगरपालिका वडा नम्बर ३ पोखरी बजारमा सवारी साधन चेकजाँच गर्ने क्रममा एकजना व्यक्तिलाई यार्सागुम्बा सहित नियन्त्रणमा लिएको छ ।
जिल्ला, संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर २ चित्लाङबाट चैनपुरतर्फ आउदै गरेको प्रदेश १-०२-०४१ प ४६०२ नम्बरको मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रण लिएको हो ।
पक्राउ पर्ने पाँचखपन नगरपालिका वडा नम्बर ९ चौरीखर्क घर भई हाल चैनपुर नगरपालिका वडा नम्बर ४ बस्ने ३९ वर्षको रिम कुमार लिम्बु हुन् । निजले बोकेको झोलाभित्र लुकाई छिपाई राखेको छुटपुर्जी नभएको ४ सय ४४ ग्राम यार्सागुम्बा र नेपाली एक हजारका दरको नगद रु १ लाख ११ हजार समेत फेला पारेको थियो ।
निजलाई नियन्त्रणमा लिई फेला परेको सामान सहित आवश्यक कारवाहिको लागि डिभिजन वन कार्यालय, खाँदबारी संखुवासभा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।