ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डे सिल्भाले सेना प्रमुख जनरल जुलियो सेजर डे अरुडालाई शनिबार बर्खास्त गरेका छन् । राष्ट्रपतिको यो कठोर कदमपछि ब्राजिलमा हलचल मच्चिएको छ । राष्ट्रपतिले जनवरी 8 मा राजधानी ब्रासिलियामा हिंसात्मक प्रदर्शनलाई अनुमति दिएको केही सेना अधिकारीहरूलाई आरोप लगाएको केही दिनपछि यो कदम आएको हो ।
ब्राजिलको सशस्त्र बलको आधिकारिक वेबसाइटले जनरल अरुडालाई शनिबार सेना प्रमुखबाट हटाएर जनरल थोमस मिगुएल रिबेरो पाइभालाई नयाँ सेना प्रमुखको रूपमा नियुक्त गरेको जनाएको छ । जनरल पाइभा यसअघि ब्राजिलियन आर्मीको साउथ ईस्ट मिलिटरी कमाण्डको प्रमुखका रुपमा कार्यरत थिए ।
रिपोर्टका अनुसार जनरल अरुडालाई बर्खास्त गरेपछि लुलाले शनिबार राति ब्राजिलियामा रक्षामन्त्री जोसे मुसियो, चीफ अफ डिफेन्स स्टाफ रुई कोस्टा र नयाँ सेना प्रमुख जनरल पाइभासँग भेट गरेका थिए । बैठक पछि पत्रकारहरूसँग कुरा गर्दै, म्यूजियोले जनवरी 8 मा भएको हिंसात्मक प्रदर्शनले सेनाको शीर्षमा “निम्न स्तरको विश्वास” निम्त्यायो र सरकारले परिवर्तन आवश्यक भएको निर्णय गरेको बताए ।
पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई सत्तामा राख्ने प्रयासमा जनवरी 8 मा उनका समर्थकहरूले सरकारी भवनहरूमा आक्रमण गरे र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएपछि लुलाले धेरै पटक सेनाको कडा आलोचना गरेका छन् । उनले पूर्व सेना प्रमुख जनरल अरुडाको नाम नलिई धेरै पटक भने कि “पक्कै पनि सेनाका केही व्यक्तिहरूले” प्रदर्शनकारीहरूलाई सरकारी भवनहरूमा प्रवेश गर्न दिएर राजधानीमा हिंसात्मक प्रदर्शनलाई समर्थन गरेका थिए ।