जापानमा जारी घातक हिमपातका कारण अहिलेसम्म कम्तिमा १७ जनाको ज्यान गएको छ भने ९० जनाभन्दा बढी घाइते भएका छन् । हिमपातका कारण सयौं घरमा बिजुली अवरुद्ध भएको छ । सोमबार विपद् व्यवस्थापन अधिकारीले सो जानकारी दिएका हुन् । यस हप्ता, कडा जाडोले उत्तरी क्षेत्रहरूमा भारी हिमपात ल्याएको छ, सयौं सवारी साधनहरू राजमार्गहरूमा फसेका छन्, डेलिभरी सेवाहरू ढिलाइ भएको छ र शनिबार मात्रै ११ जनाको मृत्यु भएको छ ।
क्रिसमस सप्ताहन्तमा परेको भारी हिमपातका कारण आज मृत्यु हुनेको संख्या १७ पुगेको छ भने घाइतेको संख्या ९३ पुगेको छ । आगलागी तथा प्रकोप व्यवस्थापन निकायले सो जानकारी दिएको हो ।
अधिकांशको मृत्युको कारण घरको छानाबाट हिउँ हटाउने क्रममा लडेर भएको उनले बताए । ती मानिसहरू गहिरो हिउँमा पुरिएका थिए । हिमपातबाट प्रभावित क्षेत्रका बासिन्दालाई हिउँ सफा गर्दा सावधानी अपनाउन र एक्लै नगर्न नगरपालिकाका कर्मचारीले आग्रह गरेका छन् ।
एजेन्सीले ७० वर्षकी एक महिलालाई छतबाट खसेको हिउँको बाक्लो तहमुनि दबिएको र उनको मृत्यु भएको बताएको छ । यो घटना यामागाता प्रान्तको नागाई सहरको हो । जुन टोकियोबाट ३०० किलोमिटर उत्तरमा छ ।