अफगानिस्तानको राजधानी काबुलमा बुधबार अबेर राति एउटा मस्जिदभित्र भएको विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने देशको उत्तरमा तीनवटा मिनी-भ्यान बम विस्फोटमा नौ जनाको मृत्यु भएको छ । इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध स्थानीय समूहले मिनीभ्यानमा भएको विस्फोटको जिम्मेवारी लिएको छ ।
काबुल इमर्जेन्सी अस्पतालले मस्जिदमा भएको बम विष्फोटमा घाइते भएका २२ जनालाई अस्पतालमा ल्याइएकामध्ये पाँच जनाको मृत्यु भएको जनाएको छ । काबुलमा तालिबान प्रहरीका प्रवक्ता खालिद जद्रानले प्रहरी जिल्ला ४ को हजरत जकारिया मस्जिदमा भएको विस्फोटको बारेमा थप जानकारी उपलब्ध नभएको बताए ।
बाल्ख प्रान्तमा तालिवानका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले मजार-ए-शरीफ सहरमा तीनवटा मिनिभ्यानलाई लक्षित गरी विस्फोटक पदार्थ राखिएको बताए । उनले विष्फोटमा नौ जनाको मृत्यु भएको र १५ जना घाइते भएको बताए । एक प्रहरी अधिकारीले नाम न छाप्ने सर्तमा मजार-ए-शरीफमा मारिनेहरू सबै देशको अल्पसंख्यक शिया मुस्लिम समुदायका थिए ।