साउथ अभिनेत्री शेरिन सेलिन म्याथ्यूको मंगलबार निधन भएको छ । मिडिया रिपोर्टका अनुसार केरलाको एर्नाकुलम जिल्लाको कोची क्षेत्रमा बस्ने २६ वर्षीया ट्रान्सवुमन मोडल आफ्नो भाडाको अपार्टमेन्टमा मृत फेला परेकी थिइन् ।
अभिनेत्रीले आत्महत्या गर्दा भिडियो च्याट गर्ने व्यक्तिले प्रहरी अधिकारीहरूलाई शेरिनको चालबारे जानकारी गराएको बताइएको छ । तर, प्रहरी अधिकारीहरु अभिनेत्रीको घरमा पुग्दासम्म शेरिनले पंखामा झुण्डिएर आत्महत्या गरिसकेकी थिइन् ।
प्रहरी अधिकारीहरूका अनुसार शेरिनका नजिकका व्यक्तिहरूले अभिनेत्री डिप्रेसनबाट ग्रसित रहेको र विगत केही दिनदेखि डिप्रेसनमा रहेको जानकारी दिएका छन् । प्रहरीले घटनामा संलग्न शेरिनका नजिकका साथीहरूको बयान लिइरहेको छ । अनुसन्धान प्रक्रिया पूरा गरेपछि शव मेडिकल कलेजमा लगिनेछ ।
शेरिनले केही मलयालम फिल्महरूमा अभिनय गरेकी थिइन् र मोडलिङमा सक्रिय थिइन् ।