पाकिस्तानी अधिकारीहरूले शनिबार मस्जिदमा भएको घातक हमलाको मुख्य योजनाकारलाई पक्राउ गर्न प्रयासहरू तीव्र पारेका छन् । एक दिन अघि पेशावरको शिया मस्जिदमा भएको आक्रमणमा ५७ जनाको मृत्यु भएको थियो भने करिब २०० जना घाइते भएका थिए ।
मस्जिदमा प्रार्थनाको क्रममा आत्मघाती बम विष्फोट गराएको आतंकवादी संगठन इस्लामिक स्टेटले जिम्मेवारी लिएको छ । आइएससँग आबद्ध इस्लामिक स्टेट खोरासानले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ ।
इस्लामिक स्टेटले एक विज्ञप्तिमा आक्रमण गर्ने आत्मघाती हमलाकारी छिमेकी अफगानिस्तानबाट भएको बताएको छ । आक्रमणकारीले उत्तर-पश्चिम पेशावरमा रहेको शिया मुस्लिम मस्जिदको सुरक्षा गरिरहेका दुई सुरक्षाकर्मीलाई गोली हाने र त्यसपछि मस्जिदमा प्रवेश गरी विस्फोट गराए । हमला एक शिया मस्जिदमा शुक्रबारको नमाज पढिरहेका बेला भएको थियो ।
यसै क्रममा अफगानिस्तानको सत्तारुढ तालिबानका उप संस्कृति तथा सूचना मन्त्री जबिउल्लाह मुजाहिदले ट्वीट गरेका छन्, ‘हामी पाकिस्तानको पेशावरको मस्जिदमा भएको हमलाको निन्दा गर्छौं । आम मानिस र नमाजीमाथि आक्रमण कुनै पनि हालतमा जायज हुन सक्दैन । यद्यपि, उनले आक्रमणकारी अफगानिस्तानबाट भएको आइएसको दाबीमा टिप्पणी गर्न अस्वीकार गरे ।
यसैबीच, कछा रिसालदार मस्जिद बाहिर गोली प्रहार गरिएका प्रहरी कर्मचारीमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको पाकिस्तानी प्रहरी अधिकारीहरूले बताएका छन् । पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले एक विज्ञप्तिमा भने कि आक्रमणको मास्टरमाइन्ड पत्ता लगाउन तीनवटा अनुसन्धान टोली गठन गरिएको छ ।