You are currently viewing ठक्करबाट १८ वर्षीय मोटरसाइकल चालकको मृत्यु, एक महिला घाइते

ठक्करबाट १८ वर्षीय मोटरसाइकल चालकको मृत्यु, एक महिला घाइते

कपिलवस्तु, साउन १७,

कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटा स्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १८ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडि सवार एक महिला घाइते भएकी छन्।

शनिबार राति करिब ११:०० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु.प्र.०१–००१ च २०५४ नम्बरको स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५१९० नम्बरको मोटरसाइकललाई आलोक होटल नजिक ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा शिवराज नगरपालिका–२, हल्लानगर निवासी १८ वर्षीय शिखर वि.क. गम्भीर घाइते भएका थिए। निधार तथा हातखुट्टामा चोट लागेका उनलाई तत्काल आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्द्रौटा पुर्‍याइएको थियो। उपचारकै क्रममा राति ११:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

यस्तै, मोटरसाइकलको पछाडि सवार शिवराज नगरपालिका–२ कै २१ वर्षीया शोभा सिर्पालीको टाउकोमा भित्री चोट लागेको छ। उनको चौराहा अस्पताल, बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न स्कारपियो, मोटरसाइकल तथा स्कारपियो चालक दाङको घोराही उपमहानगरपालिका–१५ निवासी २६ वर्षीय केशव रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोत: नेपाल प्रहरी

Leave a Reply