टर्कीका गृहमन्त्री सुलेमान सोयलुले बुधबार ग्रीससँगको सीमा नजिकै कडा चिसोमा ज्यान गुमाएका १२ शरणार्थीको शव फेला परेको बताएका छन् । उनले ग्रीसका सीमा गार्डहरूले ती व्यक्तिहरूलाई देश निकाला गरेको आरोप लगाए ।
सोयलुले ट्वीट गरे कि यी १२ व्यक्ति २२ शरणार्थी मध्ये थिए जसलाई ग्रीक सीमा गार्डहरूले टर्कीमा फिर्ता पठाएको थियो । टर्की र ग्रीस बीचको इप्सला सीमानाबाट शव फेला परेको उनले बताए । मृतकको खुट्टामा जुत्ता समेत थिएन र नग्न भेटिएको थियो ।
मन्त्रीले सीमा नजिकै मृत फेला परेका शरणार्थीहरूको बारेमा थप विवरण दिएनन्, तर बरामद गरिएका आठ शवका केही धमिलो तस्बिरहरू साझा गरे । उनले शेयर गरेको तस्विरमा देखिएका तीनजनाले पहिरन लगाएका थिए । सोयलुले ग्रीक सीमा गार्डहरूले शरणार्थीहरूप्रति ‘क्रूर’ रवैया अपनाएको आरोप लगाए ।