युएईमा अहिलेसम्म कर्पोरेट कर लाग्दैनथ्यो । संयुक्त अरब इमिरेट्स ‘युएई’ ले ठूलो परिवर्तन गर्दै पहिलो पटक संघीय कर्पोरेट कर लागू गर्ने घोषणा गरेको छ । यो व्यवस्था आगामी वर्षको मध्यदेखि लागू हुने र यससँगै युएई पनि व्यवसायबाट हुने आम्दानीमा कर लगाउने मुलुक बन्नेछ ।
मुख्यतया तेलबाट हुने आम्दानीमा निर्भर रहेको युएईले आफ्नो आम्दानीमा विविधता ल्याउने प्रयास गरिरहेको छ । युएईको अर्थ मन्त्रालयले नाफामा लाग्ने नौ प्रतिशतको नयाँ संघीय कर जुन १, २०२३ देखि लागू हुने जनाएको छ ।
तर रोजगारी, घरजग्गा र अन्य लगानीबाट हुने व्यक्तिगत आम्दानी वा UAE बाहिर इजाजतपत्र प्राप्त व्यवसायबाट आर्जित आम्दानीमा कर्पोरेट कर लागू हुने छैन । तेल र ग्यास कम्पनीहरू पनि यो करको अधीनमा हुने छैनन् ।
मन्त्रालयले साना व्यवसाय र स्टार्टअपलाई टेवा पुर्याउनका लागि व्यवसायबाट व्यापक रूपमा १ लाख २ हजार डलर सम्मको नाफालाई करको दायराबाट बाहिर राखेको अर्थात कुनै पनि कर नलाग्ने बताएको छ ।
कोरोना महामारीका कारण युएईका व्यवसाय पहिले नै नराम्ररी प्रभावित भएका छन् यद्यपि, यसले उपभोक्ताहरूमा कस्तो प्रभाव पार्छ भन्ने अझै स्पष्ट छैन, किनकि यसले केही उत्पादनहरूको मूल्य बढाउन सक्छ ।