विराट कोहलीले टी–२० पछि टेस्ट क्रिकेटको कप्तानी पनि छोड्ने घोषणा गरेका छन् ।
कोहलीले ट्वीट गर्दै यसको जानकारी दिएका हुन् । ७ वर्षसम्म टेस्ट क्रिकेटको कप्तानी गरेपछि मैले छाड्ने निर्णय गरेको कोहलीले ट्वीट गरेका छन् । मलाई थाहा छैन यो सही समय हो कि होइन । विराट कोहलीले ट्विटमा थप लेखेका छन्, ‘विगत सात वर्षदेखि मेरो निरन्तर प्रयास निरन्तर मिहिनेत र टोलीलाई सही दिशामा लैजाने भएको छ । मैले इमानदारीपूर्वक आफ्नो काम गरेको छु र कुनै कसर बाँकी राखेको छैन । तर हरेक यात्राको अन्त्य हुन्छ, यो मेरो लागि टेस्ट कप्तानी समाप्त गर्ने सही समय हो ।
कोहलीले थप लेखेका छन्, ‘यो यात्रामा धेरै उतारचढाव आए तर मेरो प्रयास र विश्वासमा कहिल्यै कमी आएको छैन । कोहलीले सन्देशमा थप लेखेका छन्, ‘मलाई यति लामो समयसम्म टोलीको कप्तानी गर्ने अवसर दिएकोमा बीसीसीआईलाई धन्यवाद दिन चाहन्छु । साथै, म टिमका साथीहरूलाई धन्यवाद दिन चाहन्छु जसले मलाई टोलीको लागि मेरो दृष्टिकोणमा साथ दिनुभयो र कुनै पनि परिस्थितिमा हार मानेनन् ।
अन्त्यमा कोहलीले पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीलाई धन्यवाद दिँदै लेखेका छन्, ‘मलाई कप्तानका रूपमा विश्वास गरेकोमा महेन्द्र सिंह धोनीलाई धन्यवाद । बीसीसीआईले विराटको ट्विटलाई रिट्वीट गर्दै भारतीय क्रिकेटमा उनको योगदानको लागि धन्यवाद दिएका छन् ।