You are currently viewing प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी गर्ने ३२ वर्षीय कार्की पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी गर्ने ३२ वर्षीय कार्की पक्राउ

भाद्र १४, रामेछाप,

रामेछापमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली विवरण तयार गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउँदै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मन्थली, रामेछापका अनुसार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि नेपाल सरकारद्वारा जारी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले रु. १,२०,००० (एक लाख बीस हजार रुपैयाँ) सहयोग गरेको भन्दै ChatGPT को प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरेका रामेछापको गोकुलगंगा गाउँपालिका–२, ठोसे बस्ने ३२ वर्षीय भगवान कार्कीलाई पक्राउ गरिएको हो।

कार्कीले आफूले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको देखाउने गरी नक्कली विवरण तथा क्यूआर कोडसमेत तयार गरी सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीको भनाइ छ। उक्त कार्यबाट बाढीपीडितका लागि सहयोग संकलन भइरहेको संवेदनशील अवस्थाको दुरुपयोग गर्दै सर्वसाधारणमा भ्रम सिर्जना गर्ने तथा ठगी गर्ने प्रयास भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मन्थली, रामेछापले कार्कीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ। प्रहरीले विपद्का बेला राहत तथा सहयोगका नाममा सामाजिक सञ्जालमा प्रसारित हुने नक्कली विवरण, बैंक स्टेटमेन्ट वा क्यूआर कोडमा विश्वास नगरी सम्बन्धित सरकारी निकायबाट आधिकारिक जानकारी लिएर मात्र सहयोग गर्न आग्रह गरेको छ।

स्रोत: जिल्ला प्रहरी कार्यालय, मन्थली, रामेछाप 

Leave a Reply