साउन २९, काठमाडौं: स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत नयाँ आबद्धता, बीमालेख नवीकरण तथा KYC Update लगायतका काम अनलाइनबाटै गर्न सकिने व्यवस्था सुरु गरेको छ।
बोर्डका अनुसार २०८३ साउन २९ गतेदेखि यी सेवाहरू HIB e-Portal (www.eportal.hib.gov.np) मार्फत उपलब्ध हुनेछन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी मन्त्री निशा मेहताको उपस्थितिमा २०८३ साउन २२ गते प्रणालीको अन्तिम तयारी तथा कार्यान्वयनसम्बन्धी आवश्यक काम सम्पन्न गरिएको बोर्डले जनाएको छ।
यो प्रणाली स्वास्थ्य बीमा बोर्डबाट स्वीकृत ‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ अनुसार सञ्चालनमा ल्याइएको हो। प्रणालीलाई राष्ट्रिय परिचयपत्र (NID) सँग समेत अन्तरआबद्ध गरिएको छ। NID भएका परिवारका सदस्यले म्यानुअल रूपमा समेत डिजिटल विवरण पेश गर्न सक्ने व्यवस्था गरिएको छ।
अब सेवाग्राहीले eSewa, Khalti र Connect IPS मार्फत स्वास्थ्य बीमा प्रिमियम भुक्तानी गर्न सक्नेछन्। व्यक्ति स्वयं वा दर्ता सहयोगीमार्फत परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमालेख नवीकरण गर्न सकिनेछ।
यसैगरी, पहिले नै स्वास्थ्य बीमा गरिसकेका परिवारले आफ्नो परिवारमूलीको स्वास्थ्य बीमा नम्बर प्रयोग गरी प्रणालीमा जोडिएर KYC Update तथा नवीकरण गर्न सक्नेछन्। कार्यालय वा संगठित क्षेत्रबाट Bulk Enrollment र Bulk Renewal तथा जिल्ला र प्रदेशबाट प्रमाणीकरण र स्वीकृतिको व्यवस्था पनि गरिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार डिजिटल प्रणाली लागू भएपछि स्वास्थ्य बीमामा आबद्धता तथा नवीकरण प्रक्रिया थप सहज हुनुका साथै सेवाप्रवाहमा पारदर्शिता बढ्ने र KYC Update मार्फत बीमितको विवरण तथा तथ्यांकको शुद्धता सुधार हुने अपेक्षा गरिएको छ।
स्रोत: स्वास्थ्य बीमा बोर्ड, नेपाल सरकार

