वीरगञ्ज, साउन २१: जिल्ला प्रशासन कार्यालय पर्साले एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने (भण्डारण गर्ने), कालोबजारी गर्ने तथा तोकिएको मूल्यभन्दा बढी रकम असुल गर्ने व्यवसायीमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी अत्यन्त जरुरी सूचनामा पर्सा जिल्लाभर खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज, नियमित र पारदर्शी बनाउन अनुगमन तथा कारबाही भइरहेको उल्लेख गर्दै केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको, ग्यास लुकाएको तथा उपभोक्तासँग बढी मूल्य असुलेको गुनासो प्राप्त भएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सबै ग्यास व्यवसायीलाई अनिवार्य रूपमा बिल वा रसिदसहित तोकिएको मूल्यमा मात्र ग्यास बिक्री–वितरण गर्न निर्देशन दिएको छ।
सूचनाको अवज्ञा गरी कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने वा कालोबजारी गरेको पाइएमा “कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२” र “उपभोक्ता संरक्षण ऐन, २०७५” बमोजिम मालसामान जफत, भारी जरिवाना तथा जेल सजाय समेत हुने प्रशासनले चेतावनी दिएको छ।
साथै, यस्ता गैरकानुनी गतिविधिबारे प्रमाणसहित जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गर्न आम उपभोक्तासँग आग्रह गरिएको छ।
स्रोत: जिल्ला प्रशासन कार्यालय, पर्सा


